शुक्रवार सिधनियाघाटमा जलिरहेको चिता नियाल्दै गर्दा नेपालगन्जको सात दशक लामो इतिहास, वर्तमान राजनीतिक संस्कृति र चिताले दिने सन्देशहरूबारे म घोत्लिरहेको छु । समाजका हरेक तप्का, समूह, विचार र आस्था बोक्ने मानिसहरू मलामीमा उपस्थित थिए । मलामीहरू मृतकप्रति अन्तिम श्रद्धा व्यक्त गर्न गएका हुन् कि कतै आफ्नै मलामीको जोहो गर्न पुगेका हुन ? मृत्युबारे मान्छेहरू चिन्तित हुन्छन ? म फेरि चिन्तित हुन्छु । म ‘नेपालगन्ज दर्पण’ लेखिरहेको छु । समाजका विभिन्न क्षेत्रका व्यक्ति र व्यक्तित्वहरू बारे अध्ययन गर्दा म बाँकेको राजनीतिक क्षेत्रको शिखर व्यक्तित्वको रूपमा फत्तेसिंह थारुलाई पाउँछु । हरेक मान्छे आफ्नो समयको प्रवक्ता हुन्छ र उसको जीवनमा समाजमा भइरहेका घटनाहरू पात्रको रूपमा व्यक्त भइरहेका हुन्छन् ।
एउटा कुलिन परिवारमा जन्मिएकाले थारुमा स्वाभाविक रूपमा सामन्ती संस्कृति झल्किनु पर्दथ्यो । वि.सं १९९६ साल असोज ०४ गते जन्मिएका थारुले राणाकाल, संक्रमणकाल, पहिलो संसदीय अभ्यास, पञ्चायतको पूर्ण अवधि, बहुदलीय व्यवस्था, राजाको सक्रिय शासनकाल हुँदै गणतन्त्रसम्म पनि आफ्नो राजनीतिक भूमिका निरन्तर सक्रिय नै राखे । उनले भारत र नेपालका विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए र डिप्लोमा इन फरेन अफेयर्सको अध्ययन गरेका थिए । गाउँ पञ्चायतको प्रधानपञ्चबाट राजनीति सुरू गरेर जिल्ला पञ्चायत सभापति हुँदै उनी बाँकेबाट तीन पटक निर्वाचित प्रतिनिधि र सात पटक मन्त्री भए ।
उनको राजनीतिमा ‘लेफ्ट’ चरित्र हावी थियो । तर २०४६ साल चैत २४ गते गठित लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा समावेश भएर उनी पञ्चायतको अन्तिम मन्त्रीमण्डलको सदस्य बने । इतिहासको यो टर्निङ पोइन्टमा मन्त्रीमण्डलमा समावेश थारुको यो कार्यकाल भने सुखद रहन सकेन ।
फत्तेसिंह थारुको बहानामा अब नेपालगन्जको राजनीतिक चेत र आवेगको चर्चा गरौँ ।
वि.सं २००७ सालपछिको राजनीतिक परिवर्तनको संगिन मोडमा नेपालगन्ज कहिल्यै अग्रभागमा उभिन सकेन । वि.सं २०३७ सालको निर्दल–बहुदल चुनावमा पञ्चायतले जितेको थलो हो, यो । वि.सं २०४२ सालको सत्याग्रहमा पनि खासै भूमिका निर्वाह गर्न सकेनन् ।

२०४६ सालमा धेरै पछि मात्र नेपालगन्ज जाग्यो । आफू ढिलो जागे पनि केही कुरा गरेर देखाउने मनोविज्ञानले गर्दा २०४६ साल चैत २७ गते दुःखद दुर्घटना घट्न पुग्यो । ‘फत्तेसिंह थारु पम्फादेवीको पैसा बाँड्ने भूमिकामा रहेको’ भन्ने गलत प्रचार गरियो र केही असंगठित शक्तिहरूले उनीमाथि आक्रमण गरे । ठेलागाढामा कालोमोसो दलेर उनलाई नगर परिक्रमा गराइयो । काठमाडौँको कालीमाटीमा उस्तै घटनामा आठ जना प्रहरीको भिडले हत्या गरिसकेको थियो । यदि थारुले कुनै प्रतिक्रिया दिएको भए त्यो भयंकर दुर्घटनामा परिणत हुन सक्थ्यो । तर उनी मौन थिए, गाडामा मूर्तिजस्तै खडा थिए । भिड चिच्याउँदै दक्षिणबाट उत्तरतर्फ आउँदै थियो । म पनि दर्शकको रूपमा राष्ट्र बैंकको अगाडि त्यो विभत्स दृश्य हेर्दै थिएँ । म पञ्चायत विरोधी भएतापनि बचाउन नसकेकोमा मेरो लाचारीले मलाई नै जिस्क्याउँदै थियो । उनी धम्बोझी चोकमा भिडको नियन्त्रणबाट मुक्त भए । फोटो खिचे, घर पुगेर नुहाई–धुवाई गरेर सफा कपडामा फेरि बजार घुमे ।
भ्रमका केही तथ्यहरूः
क) स्वभावैले प्रजातन्त्रवादी रहेका र पञ्चायतभित्र ’लेफ्ट’ राजनीति गरेका फत्तेसिंह थारु जिल्ला पञ्चायत सभापति हुँदा गाडीबाट बहुदलका पर्चा छरेका थिए ।
ख) मण्डले राजनीतिविरुद्ध प्रजातन्त्रवादी तरुणहरूको ’दिपेन्द्र युवा क्लब’को संरक्षक बनेका थिए, जसले तरुणहरूलाई व्यवस्थाको कोपभाजन र अञ्चलाधीशको दबाबबाट मुक्त गराएको थियो ।
ग) पञ्चायतको चुनावमा उनी सधैँ सरकारी उम्मेदवारको विपक्षमा उभिए ।
घ) कांग्रेससँग निकट सम्बन्ध रहेका थारु २०४६ चैत २७ को दुर्घटनापछि काँग्रेसी बन्न सकेनन् । उनीमाथि गरिएको दुव्र्यवहार कांग्रेसीहरूले गरेका हुन् भन्नेमा उनी विश्वस्त थिए ।
ङ) त्यसै दुर्घटनाको समयमा उनले मलाई पनि देखेकाले मप्रति पनि उनमा भ्रम रहन गयो । म प्रत्यक्ष वा परोक्ष रूपमा त्यस घटनासँग सरोकार नराख्ने केवल द्रष्टा मात्र थिएँ । त्यो भ्रम मैले कहिल्यै सफा गर्न सकिनँ । बाँकेका यी राजनीतिक शिखर पुरुषसँग बाँकेको राजनीतिको ८६ वर्षको ज्ञान, सूचना, अभ्यास र इतिहास अध्ययन गर्ने मेरो हुटहुटी समाधान हुन पाएन । मैले त्यो भ्रम चिर्न उनका साढुभाई डोनास गाङ्गदाङ, भाइ ठाकुरसिंह थारु, साहित्यकार शिवानी सिंह थारु र छोराहरू मार्फत निरन्तर प्रयास गरेँ । यस घटनाले मलाई भ्रमको शक्ति र सत्य–भ्रमबिचको पर्खाल कति मजबुद हुँदो रहेछ भन्ने अनुभूत गरायो ।
च) उनी राजनीतिमा सदैव सक्रिय रहे । नेपालगन्जमा नपाइने पत्रपत्रिकाहरू राजधानीबाट मगाएर अध्ययन गर्थे ।
छ) नेपालगन्जको राजनीतिक मनोविज्ञान स्थीर छैन । ३६ दिनमा निर्दललाई जितायो । ४६को अन्तमा फत्तेसिहलाई दुव्र्यवहार गर्ने नेपालगन्ज ५१मा बहुदलिय व्यबस्थामा भने निर्वाचित गराँउछ । उनी मन्त्री पनि बन्छन् । सक्रिय जीवन बिताउँदा–बिताउँदै आफैँ अस्पताल गएका फत्तेसिंह थारु फेरि फर्किएर आएनन् ।
ज) सिधनियाघाटका सयौँ मलामीहरू, विभिन्न भाषा, क्षेत्र, धर्म, जाति, संस्कृतिको सामूहिक उपस्थिति राप्रपा नेता फत्तेसिंहको लागि नभई बाँकेको राजनीतिका चतुर खेलाडी फत्तेसिंहप्रतिको आदर र सम्मान थियो । घाटमै संक्षिप्त कुराकानीका क्रममा मैले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि यो कुरा भनेको थिएँ ।
अन्तमा, आफ्नो भ्रम सफा गर्न नसकेको एउटा लेखक दिवंगत थारूप्रति बिदा भन्दछ । नेपालगन्जको राजनीतिलाई उनले दिएको शिक्षा र दीक्षा सदा स्मरणीय रहनेछ ।




























