नेपालगन्ज रेल सम्पर्कको आशा थप बलियो
भारत सरकारको रेल मन्त्रालयले दुधवा राष्ट्रिय निकुञ्जको संवेदनशील वन क्षेत्रलाई सुरक्षित राख्दै नयाँ ब्रोडगेज रेलमार्ग निर्माणका लागि महत्त्वपूर्ण कदम चालेको छ । मन्त्रालयले नेपालसँगको सीमा क्षेत्र नजिकै दुधवा राष्ट्रिय निकुञ्ज बाहिरबाट प्रस्तावित नयाँ ब्रोडगेज रेलमार्गको ’फाइनल लोकेसन सर्वे’ (एफएलएस) तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न ३ करोड ५८ लाख भारतीय रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको हो ।
पूर्वोत्तर रेलवेका मुख्य जनसम्पर्क अधिकारी पंकज कुमार सिंहका अनुसार, भीरा खीरी–रायबोझा १२० किलोमिटर खण्डमा नयाँ ब्रोडगेज रेलमार्ग निर्माण तथा मैलानी–भीरा खीरी १६ किलोमिटर र नानपारा–रायबोझा १३ किलोमिटर खण्डमा गेज परिवर्तनका लागि सर्वेक्षण गरिनेछ । नयाँ रेलमार्ग दुधवा राष्ट्रिय निकुञ्ज बाहिरबाट प्रस्ताव गरिएकाले वन्यजन्तु र प्राकृतिक बासस्थानमा पर्ने प्रभाव न्यून हुने अपेक्षा गरिएको छ ।
‘परियोजना सम्पन्न भएपछि दिल्लीसहित उत्तर र पश्चिम भारतसँगको रेल सम्पर्क थप सहज हुने तथा पूर्वी भारतबाट पीलीभीत, लखीमपुर खीरी र उत्तराखण्डतर्फ आवतजावत गर्ने यात्रुका लागि वैकल्पिक ब्रोडगेज रेलमार्ग उपलब्ध हुने रेल मन्त्रालयको विश्वास छ,’ रुपैडिहास्थित पत्रकार सुरेन्द्र मधेसियाले दैनिक नेपालगन्जसँग भने ।
यसैबीच, भारत–नेपाल रेल सम्पर्क परियोजनाअन्तर्गत बहराइच–नानपारा हुँदै नेपालगन्ज रोड रेलवे स्टेशनसम्म रेल सञ्चालनको तयारी पनि क्रमशः अघि बढिरहेको छ। विभागीय स्रोतका अनुसार नेपालगञ्ज स्टेशनमा केही निर्माण तथा प्राविधिक काम अझै बाँकी रहेकाले नियमित रेल सञ्चालन सुरु हुन सकेको छैन ।
स्रोतका अनुसार, बाँकी काम समयमै सम्पन्न भएमा सन् २०२६ को अन्त्य, अर्थात् डिसेम्बरसम्म रेल सञ्चालन सुरु हुने सम्भावना रहेको छ । यद्यपि यसबारे भारतीय रेल वा नेपाल रेल्वेले हालसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन् ।
रेल सेवा सञ्चालनमा आएपछि नेपाल–भारत सीमावर्ती क्षेत्रका यात्रु, व्यापारी र पर्यटकलाई सहज आवतजावतको सुविधा मिल्नुका साथै व्यापार, पर्यटन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।































