सामाजिक योगदानको उच्च सम्मान
नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाका संस्थापक सभापति स्वर्गीय मिलन सापकोटाको योगदानको सम्मानस्वरूप निर्माण गरिएको सालिक शनिबार अनावरण गरिएको छ । करिब २ लाख २० हजार रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको सालिक उपशाखाको कार्यालय परिसरमा स्थापना गरिएको हो ।
औपचारिक कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, उपाध्यक्ष मञ्जु मल्ल र नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाका सभापति जीवनाथ सापकोटाले संयुक्त रूपमा सालिक अनावरण गरे । कार्यक्रममा रेडक्रसकर्मी, जनप्रतिनिधि, स्थानीयवासी तथा सापकोटाका शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वक्ताहरूले खजुरा क्षेत्रमा रेडक्रस अभियानलाई संस्थागत बनाउने, मानवीय सेवाको संस्कार विकास गर्ने र समाजसेवामा पु¥याएको मिलन सापकोटाको योगदानको स्मरण गर्दै उनको जीवन भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने बताए । उनीहरूले समाजसेवा, मानवीय उत्तरदायित्व र समर्पणको भावनालाई निरन्तरता दिन यस्ता व्यक्तित्वको योगदानलाई सम्मान गर्नु आवश्यक रहेको धारणा राखे ।
नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाका अनुसार सालिक निर्माणका लागि खजुरा गाउँपालिकाले १ लाख ४० हजार रुपैयाँ सहयोग गरेको हो । बाँकी रकम सापकोटा परिवार, जीवनाथ सापकोटा र रेडक्रस उपशाखाको संयुक्त सहयोगबाट व्यवस्थापन गरिएको थियो ।
विसं २०६० मा नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखा स्थापना हुँदा मिलन सापकोटाले संस्थापक सभापतिका रूपमा नेतृत्व सम्हालेका थिए । उनले ६ वर्षभन्दा बढी समय उपशाखाको नेतृत्व गर्दै रेडक्रसका मानवीय गतिविधिलाई विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
खजुरामा स्वच्छ छविका राजनीतिक तथा सामाजिक अभियन्ताका रूपमा परिचित सापकोटाको विसं २०६६ मा निधन भएको थियो । बाँकेको कम्युनिस्ट आन्दोलनमा पनि उनको उल्लेखनीय योगदान रहेको थियो । परिवारले समाजसेवा र मानवीय सेवाप्रतिको उनको समर्पणको सम्मानस्वरूप गरिएको सालिक निर्माणले उनको योगदानलाई दीर्घकालसम्म स्मरणीय बनाउने विश्वास व्यक्त गरेको छ ।































