लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले भेरी अस्पताल, नेपालगन्जमा ५० शैय्याको समता भवन बनाउने घोषणा गरेका छन् ।
अस्पतालको मंगलबार आयोजित १३६औं बार्षिकोत्सवमा बोल्दै मन्त्री खत्रीले अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले ५० शैय्याको समता भवन बनाउने घोषणा गरेका हुन् । उक्त भवन आमा मृत्युदर र शिशु मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले निर्माण गरिने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि, बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मो. ईस्तियाक राईले अस्पतालमा रहेका समस्याहरु समाधानका लागि आफु सधै तत्पर रहेको बताएका थिए । भेरी अस्पताल पश्चिमकै उपचारको केन्द्र भएकाले यसको स्तरबृद्धिमा सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले अस्पतालका समस्या र भावी योजनाबारे जानकारी दिएको कार्यक्रममा २५ वर्ष सेवा गरेका कर्मचारी र कार्यसम्पादनमा उत्कृत्ट कमर्चारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुरेश चौधरी, केपी खनाल, सुस्मा स्वर्णकार, लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश महामन्त्री सीएम उपाध्याय, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङ, संघीय स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा.श्यामसुन्दर यादव, सञ्जीवनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोमन किदवाई, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक डा.निरज भट्टराईलगायतको उपस्थिति रहेको थियो ।





























