चिकित्सकमाथि भएको आक्रमण र स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेपछि उपचारका लागि आएका बिरामीहरू समस्यामा परेका छन् ।
सरकारी, निजी तथा गैरसरकारी स्वास्थ्य संस्थामा नियमित सेवा प्रभावित हुँदा टाढाटाढाबाट उपचारको आशामा आएका सर्वसाधारण अलपत्र परेका हुन् । आकस्मिक सेवा भने सञ्चालनमै रहेको छ ।
नेपाल चिकित्सक संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै साउन १३ गते देशभरका सरकारी, निजी तथा गैरसरकारी अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा स्थगित गर्ने निर्णय सार्वजनिक गरेको थियो । संघका अनुसार, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामाथि पटक–पटक आक्रमण भइरहेकाले विरोधस्वरूप आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । ‘हामी केन्द्रको निर्देशनमा बाँके जिल्लाका सबै स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलित भएका छौं,’ संघका भेरी सचिव डा. प्रचण्ड गौतमले दैनिक नेपालगन्जसँग भने, ‘ओपीडी सेवा बन्द भएको छ ।’
संघका अनुसार, गत शनिवार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक र स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो। उक्त घटनामा डा. रामको टाउकोमा गम्भीर चोट लागेको र अस्पतालमा तोडफोडसमेत गरिएको संघले जनाएको छ ।
त्यसविरुद्ध नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । शनिबारको घटनामा प्रशासनले दुव्र्यवहार गरेको आरोप लगाउँदै सीडीओ र जिल्ला प्रहरी प्रमुखको राजीनामा मागेका उनीहरुले आफैं राजीनामा दिएका हुन् ।
उक्त अस्पतालमा रहेका करिब ७० चिकित्सकले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेको बताइएको छ ।
घटनामा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेका बेला प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखले बल प्रयोग गरेको पनि संघको आरोप छ । त्यस क्रममा संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुव्र्यवहार भएको भन्दै संघले त्यस घटनाको पनि कडा भत्र्सना गरेको छ ।
संघले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा प्रभावकारी कानुनी कारबाही हुनुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको जनाएको छ। साथै दोषीमाथि कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नभएसम्म थप आन्दोलनका कार्यक्रमसमेत अघि बढ्न सक्ने संकेत गरेको छ ।





























