नेपालको औपचारिक जडीबुटी निर्यातको ७५ प्रतिशत हिस्सा नेपालगन्ज नाकाबाट हुँदै आएको पाइएको छ । नेपालमा जडीबुटी तथा सुगन्धित बिरुवाको क्षेत्रबारे गरिएको अध्ययनले नेपालगन्जलाई जडीबुटी व्यापारको महत्वपूर्ण केन्द्रका रूपमा देखाएको हो ।
जर्मन सरकारको सहयोगमा सञ्चालित कार्यक्रमअन्तर्गत अनुसन्धान तथा विकाससम्बन्धी संस्थाले गरेको जडीबुटी तथा सुगन्धित बिरुवा क्षेत्रको मूल्य शृंखला अध्ययनका निष्कर्ष नेपालगन्जमा सार्वजनिक गरिएको छ । सोमबार नेपालगन्जस्थित जडीबुटी हलमा आयोजित जानकारी सम्प्रेषण तथा अन्तरक्रिया कार्यक्रममा अध्ययनका प्रमुख निष्कर्ष प्रस्तुत गरिएको हो ।
अध्ययनअनुसार नेपालको हिमाल तथा जंगलमा करिब १ हजार ६ सय २४ प्रजातिका जडीबुटी पाइन्छन् । तर अन्तर्राष्ट्रिय बजारमा नियमित रूपमा पुग्ने जडीबुटीको संख्या भने करिब १ सय मात्र रहेको अध्ययनले देखाएको छ । यसले नेपालमा उपलब्ध जडीबुटीजन्य स्रोतको ठूलो हिस्सा अझै व्यावसायिक रूपमा उपयोग हुन नसकेको देखाएको छ ।
नेपालगन्ज नाकाबाट हुने निर्यातको हिस्सा अध्ययनको अर्को महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको थियो । देशभरबाट हुने औपचारिक जडीबुटी निर्यातमध्ये ७५ प्रतिशत नेपालगन्ज नाकाबाट हुँदै आएको तथ्य अध्ययनमा उल्लेख छ । अध्ययनले नेपालगन्जलाई जडीबुटी व्यापारको प्रमुख प्रवेश तथा निकासी केन्द्रका रूपमा चित्रण गरेको छ ।
जडीबुटीको प्रशोधन र भण्डारणसँग जोडिएका चुनौती पनि अध्ययनले औंल्याएको छ । सोलार ड्रायरको अभावका कारण जडीबुटी सुकाउने क्रममा यसको गुणस्तरमा असर पर्ने गरेको पाइएको छ । अध्ययनअनुसार, यसरी जडीबुटीको गुणस्तर करिब १८ प्रतिशतसम्म घट्ने गरेको छ ।
अध्ययनले नेपालमा जडीबुटीको गुणस्तर परीक्षणका लागि प्रयोगशालाको अवस्था पनि पर्याप्त नभएको देखाएको छ । हाल जम्मा तीन वटा प्रयोगशाला मात्र अन्तर्राष्ट्रिय मान्यताको नजिक पुगेका छन् । अन्तर्राष्ट्रिय बजारमा नेपाली जडीबुटीको पहुँच विस्तार गर्न गुणस्तर परीक्षण तथा प्रमाणीकरणको क्षमता बढाउनुपर्ने आवश्यकता अध्ययनले देखाएको छ ।
त्यसैगरी नेपाली जडीबुटीका लागि अन्तर्राष्ट्रिय बजारमा सम्भावना भने उल्लेख्य रहेको अध्ययनको निष्कर्ष छ । युरोप, अमेरिका, जापान, भारत र चीनका ९० जना सत्यापित खरिदकर्तासम्म नेपालको पहुँच पुगिसकेको अध्ययनले जनाएको छ । यसलाई नेपाली जडीबुटीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने आधारका रूपमा हेरिएको छ ।
अध्ययनमा जडीबुटीको उत्पादनस्थलदेखि अन्तर्राष्ट्रिय बजारसम्मको आपूर्ति शृंखला पारदर्शी बनाउन ब्लकचेन प्रविधिको सम्भावनासमेत देखाइएको छ । जंगलबाट संकलन भएको जडीबुटी विदेशी बजारमा पुग्दासम्मको यात्रालाई प्रविधिमार्फत प्रमाणित गर्न सकिने व्यवस्था विकास गर्न सकिने अध्ययनले जनाएको छ । यसबाट नेपाली जडीबुटीलाई कच्चापदार्थका रूपमा मात्र निर्यात गर्ने अवस्थाबाट गुणस्तरीय तथा प्रिमियम ब्रान्डका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सकिने सम्भावना औंल्याइएको छ ।
कार्यक्रममा अध्ययनका निष्कर्ष प्रस्तुत गर्दै अध्ययन टोलीले जडीबुटी क्षेत्रको उत्पादन, संकलन, प्रशोधन, व्यापार तथा निर्यातमा रहेका समस्या र सम्भावनाबारे जानकारी गराएको थियो । अध्ययन टोलीका प्रमुख अन्वेषक मेघनाथ दुलालको नेतृत्वमा अध्ययन गरिएको हो । टोलीमा सगुन बाबा श्रेष्ठ, श्रीका भट्ट र दृष्टान्त चन्द्रभट्ट सदस्यका रूपमा रहेका थिए ।
कार्यक्रममा अध्ययनको निष्कर्ष प्रस्तुत गरेपछि सहभागी सरोकारवालाबीच जडीबुटी क्षेत्रका समस्या र सुधारका उपायबारे छलफलसमेत भएको थियो । संकलकदेखि व्यापारी तथा सरकारी निकायका प्रतिनिधिले आ–आफ्ना अनुभव र सुझाव राखेका थिए । सहभागीबाट प्राप्त सुझावलाई अध्ययनको अन्तिम प्रतिवेदन तथा कार्ययोजनामा समेटिने आयोजकले जनाएको छ ।
जडीबुटीको उत्पादन र व्यापारसँग सम्बन्धित विभिन्न पक्षका प्रतिनिधिले कार्यक्रममा सहभागिता जनाएका थिए । जडीबुटी संकलक, व्यापारी र प्रशोधकसँगै डिभिजन वन कार्यालय, वनस्पति क्वारेन्टाइन कार्यालय, सडक तथा यातायात व्यवस्था कार्यालयका प्रतिनिधि सहभागी थिए । नेपालगन्ज तथा बाँके चेम्बर अफ कमर्स, ट्रकरकार्गो यातायात व्यवसायी संघ र सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिको पनि सहभागिता थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य मीना बोहोरा सिद्दिकी, निवर्तमान सांसद मोहम्मद याकूब अन्सारी, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेल तथा जडीबुटी व्यवसायी संघ नेपालका अध्यक्ष टंक प्रसाद आचार्य र महासचिव भानुभक्त रिजालको विशेष उपस्थिति रहेको थियो ।
छलफलका क्रममा नेपाल आगामी वर्षहरूमा विकसित मुलुकतर्फ स्तरोन्नति हुँदा जडीबुटी निर्यातमा पर्न सक्ने प्रभावबारे पनि चर्चा भएको थियो । त्यस्तो अवस्थामा नेपाली जडीबुटीको निर्यातमा आउन सक्ने चुनौती र त्यसको सामना गर्न अपनाउनुपर्ने रणनीतिबारे सहभागीबीच विचार आदानप्रदान गरिएको थियो ।
अध्ययनले जडीबुटी क्षेत्रलाई थप व्यवस्थित बनाउन उत्पादनदेखि बजारसम्मको मूल्य शृंखला सुधार गर्नुपर्ने देखाएको छ । गुणस्तर कायम गर्ने प्रविधि, परीक्षण तथा प्रमाणीकरणको क्षमता, अन्तर्राष्ट्रिय बजारसँगको प्रत्यक्ष पहुँच र आधुनिक प्रविधिको प्रयोग बढाउन सके नेपालले जडीबुटीबाट थप आर्थिक लाभ लिन सक्ने सम्भावना देखाएको छ ।
नेपालको जडीबुटी तथा सुगन्धित बिरुवा क्षेत्रको मूल्य शृंखला अध्ययनका निष्कर्ष सरोकारवालासम्म पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा करिब ४५ जना सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रमका लागि जडीबुटी हल उपलब्ध गराएर सहयोग गरेकोमा आयोजकले जडीबुटी व्यवसायी संघ नेपालगन्जप्रति आभार व्यक्त गरेको छ । अध्ययन टोलीका अनुसार कार्यक्रमले जडीबुटी क्षेत्रका सरोकारवालाबीच अध्ययनका निष्कर्षबारे जानकारी आदानप्रदानसँगै आगामी कार्ययोजनाका लागि आवश्यक सुझाव संकलन गर्ने आधारसमेत तयार गरेको जनाएको छ ।































