नेपाल लिकर्सका सिइओ तुलाधर ‘सिइओ अफ द इयर’बाट सम्मानित
नेपाल लिकर्स प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत अभनिश बिर सिंह तुलाधरले सिंगापुरमा आयोजित एशिया बिजनेस लिडर्स अवार्ड्समा ‘सिइओ अफ द इयर’ अवार्ड प्राप्त गरेका छन्। एशियाली क्षेत्रका व्यवसायिक नेतृत्व, रणनीतिक नवप्रवर्तन र उद्योगमा पुर्याएको योगदानका आधारमा प्रदान गरिने प्रतिष्ठित सम्मान तुलाधरले प्राप्त गरेका हुन्।
यो सम्मानलाई नेपाल लिकर्सले आफ्नो संस्थागत उपलब्धिका रूपमा मात्र नभई नेपाली कर्पोरेट क्षेत्रकै अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको उपलब्धिका रूपमा लिएको छ। अन्तर्राष्ट्रिय व्यवसायिक मञ्चमा नेपाली नेतृत्वले प्राप्त गरेको यो सम्मानले नेपाली व्यवस्थापन क्षमता र नेतृत्वको सम्भावनालाई समेत उजागर गरेको कम्पनीको भनाइ छ।
एशिया बिजनेस लिडर्स अवार्ड्सले हरेक वर्ष एशिया क्षेत्रका प्रभावशाली व्यवसायिक नेतृत्वकर्तालाई सम्मान गर्दै आएको छ। नेतृत्व क्षमता, रणनीतिक सोच, नवप्रवर्तन तथा सम्बन्धित उद्योगमा पुर्याएको रूपान्तरणकारी योगदानलाई आधार बनाएर अवार्ड प्रदान गरिँदै आएको नेपाल लिकर्सले जनाएको छ।
तुलाधरले नेपाल लिकर्समा डाइरेक्टर अफ अपरेसन्सको जिम्मेवारी सफलतापूर्वक सम्हालेपछि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन्। जेन जी पुस्ताका नेतृत्वकर्ता तुलाधरले युनिभर्सिटी अफ रिचमण्ड र एसेक बिजनेस स्कुलबाट उच्च शिक्षा हासिल गरेका छन्।
अन्तर्राष्ट्रिय शैक्षिक पृष्ठभूमिलाई नेपाल लिकर्सभित्रको व्यावहारिक अनुभवसँग जोड्दै उनले कम्पनीको व्यवसायिक रणनीतिमा आधुनिक सोच र दीर्घकालीन दृष्टिकोणलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ। उनको नेतृत्वमा संस्थाको पुरानो विरासतलाई नयाँ प्रविधि, नवप्रवर्तन र बजारको बदलिँदो गतिसँग जोड्ने प्रयास भइरहेको छ। यसले नेपाल लिकर्सको बजार गतिविधिमा थप गतिशीलता ल्याएको कम्पनीको दाबी छ।
सम्मान प्राप्त गरेपछि तुलाधरले यो उपलब्धिलाई आफ्नो व्यक्तिगत सफलताभन्दा पनि सम्पूर्ण नेपाल लिकर्स परिवारको सामूहिक मेहनतको परिणामका रूपमा लिएका छन्। उनले भने, ‘यो प्रतिष्ठित सम्मानबाट सम्मानित हुन पाउँदा म अत्यन्तै आभारी छु। यो सफलता मेरो मात्र नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको लगनशीलताको परिणाम हो। म यो अवार्ड हाम्रा संस्थापक मेरा पूज्य हजुरबुबा स्व. भक्त वीर सिंह तुलाधरको दूरदृष्टि र मार्गदर्शनका साथै मेरो परिवारको निरन्तर साथलाई समर्पित गर्दछु। हामी नेपाल लिकर्सलाई अझ नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध छौँ।’
तुलाधरको नेतृत्वमा कम्पनीलाई थप उचाइमा पुर्याउने लक्ष्य रहेको नेपाल लिकर्सले जनाएको छ। कम्पनीको सम्पूर्ण टोलीले तुलाधरलाई अन्तर्राष्ट्रिय स्तरको सम्मान प्राप्त गरेकोमा बधाई दिँदै आगामी दिनमा पनि उनको नेतृत्वबाट थप उपलब्धि हासिल हुने अपेक्षा गरेको छ।
नेपाल लिकर्स प्रा. लि. विसं २०३६ मा स्थापना भएको कम्पनी हो। कम्पनीले नेपालभर उच्च गुणस्तरीय मदिराजन्य पेय पदार्थको उत्पादन, मिश्रण तथा वितरण गर्दै आएको छ। नेपालमा मदिराजन्य पेय पदार्थको उत्पादन र वितरण क्षेत्रमा अग्रणी कम्पनीका रूपमा रहेको नेपाल लिकर्सले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्दै आएको छ।
विश्वप्रसिद्ध ब्रान्ड डियाजियोको विश्वासिलो फ्रान्चाइज पार्टनरका रूपमा नेपाल लिकर्सले सिग्नेचर व्हिस्की र स्मिरनोफ भोड्काजस्ता चर्चित ब्रान्ड उत्पादन गर्दै आएको छ। गुणस्तर, नवप्रवर्तन र व्यावसायिक नैतिकतालाई प्राथमिकतामा राख्दै कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्दै आएको जनाएको छ।






























