देबेन्द्र राज पौडेल
भेरी अस्पताल नेपालगन्जले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वास्थ्य प्रतिवेदन अनुसार सिकलसेल तथा अन्य हेमोग्लोबिनसम्बन्धी रोगको परीक्षणमा उल्लेखनीय संख्यामा असामान्य हेमोग्लोबिन भेटिएको छ । प्रतिवेदनले विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा सिकलसेल रोग तथा वाहक अझै पनि महत्वपूर्ण सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा रहेको देखाएको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२÷०८३ मा एचबी–एचपीएलसी प्रविधिबाट २ हजार ७ सय २ जनाको परीक्षण गरिएको थियो । तीमध्ये २ हजार १ सय ७ जना (७७.९८ प्रतिशत) मा नतिजा सामान्य देखिएको छ भने ५ सय ३ जना (१८.६२ प्रतिशत) मा असामान्य हेमोग्लोबिन भेटिएको छ । त्यसैगरी ९२ वटा (३.४ प्रतिशत) नमुना पुनः परीक्षण, नमुना नआएको वा नमुना बिग्रिएका कारण अन्तिम नतिजा दिन नसकिएको प्रतिवेदनमा उल्लेख छ ।
अस्पतालका अनुसार असामान्य हेमोग्लोबिन भएका ५ सय ३ जनामध्ये सबैभन्दा बढी २ सय २७ जना (४५.१३ प्रतिशत) मा सिकलसेल ट्रेटको संकेत भेटिएको छ । त्यस्तै १ सय ६३ जना (३२.४१ प्रतिशत) मा बिटा–थालासेमिया ट्रेट, ५० जना (९.९४ प्रतिशत) मा सिकलसेल रोग, ३८ जना (७.५५ प्रतिशत) मा सिकल÷बिटा–थालासेमिया, १० जना (१.९९ प्रतिशत) मा एचबी–ई ट्रेट देखिएको छ ।
यसैगरी बिटा–थालासेमिया मेजर र एचबी–ई होमोजाइगस का ४–४ जना, एचबी–एच रोग, हेमोग्लोबिन एसई तथा एचबी–डी पञ्जाब हेटेरोजाइगस का २–२ जना, साथै एचबी–जे भेरियन्ट का १ जना बिरामी फेला परेको प्रतिवेदनले जनाएको छ ।
भेरी अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२÷०७३ देखि २०८२÷०८३ सम्म अस्पतालमा १ हजार १ सय ७१ जना सिकलसेल रोगी दर्ता भएका छन् । वार्षिक रूपमा हेर्दा २०७३÷०७४ मा सबैभन्दा धेरै २ सय २२ जना नयाँ बिरामी दर्ता भएका थिए । त्यसपछि २०७४÷०७५ मा १ सय ७८, २०७२÷०७३ मा १ सय ५७, २०७५÷०७६ मा १ सय ३२, २०७६÷०७७ र २०७९÷०८० मा १ सय ८÷ १ सय ८, २०७७÷०७८ मा ३९, २०७८÷०७९ मा ६१, २०८०÷०८१ मा ७०, २०८१÷०८२ मा ५० र २०८२÷०८३ मा ४६ जना नयाँ बिरामी दर्ता भएका छन् । पछिल्ला वर्षहरूमा नयाँ बिरामीको संख्या केही घट्दै गएको देखिएको छ ।
जिल्लागत विवरणअनुसार बर्दिया सिकलसेल रोगबाट सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ । अस्पतालमा दर्ता भएका बिरामीमध्ये ७ सय ५ जना बर्दियाका रहेका छन् । त्यसपछि बाँकेका २ सय २१, दाङका १ सय १४, कैलालीका ५१, सुर्खेतका ४३, कपिलवस्तुका ४, जाजरकोटका २, कञ्चनपुरका २, तथा बझाङ र रूपन्देहीका १–१ जना बिरामी दर्ता भएका छन् ।
भेरी अस्पताल पश्चिम नेपालका लाखौं जनसंख्यालाई सेवा प्रदान गर्ने प्रमुख रेफरल अस्पतालका रूपमा परिचित छ । अस्पतालले नियमित रूपमा सिकलसेल तथा अन्य वंशाणुगत रक्तरोगको पहिचानका लागि एचबी–एचपीएलसी परीक्षण सञ्चालन गर्दै आएको छ ।
समयमै परीक्षण, विवाहपूर्व परामर्श, परिवारस्तरमा स्क्रिनिङ र नियमित उपचार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सके सिकलसेल रोगबाट हुने जटिलता र मृत्यु जोखिम उल्लेखनीय रूपमा घटाउन सकिनेछ ।
विवाह कुण्डली मिलाउँदा नै उत्तम
भेरी अस्पतालमा सेवा लिने सिकलसेल प्रभावितहरूको पछिल्लो दश वर्षको तथ्यांक हेर्दा एउटा लामै संख्या आउँछ । अहिलेको अवस्था के हो, सिकल सेलको समग्र यहाँको कार्य क्षेत्रमा ?
अब अहिले के छ भने रोग पत्ता लाग्ने क्रम चाहिँ बढेको छ । पहिले यसबारे जनचेतना कम थियो । चिकित्सकलाई पनि धेरै कम जानकारी थियो । त्यसैले रोगको निदान चाहिँ बढेको छ । तर अब हामीले खोजेको चाहिँ के हो भने समुदायमा अविवाहित युवायुवतीको पहिले नै रोगको वाहक वा रोगी पत्ता लगाएर वैवाहिक निर्णय गर्दाखेरि चाहिँ त्यो सिकल थालेसिया कुण्डलीअनुसार गरियो भने चाहिँ अब नयाँ–नयाँ चाहिँ शून्य होस् भन्ने चाहेको हो ।
त्यो अनुसार चाहिँ नयाँ बिरामीहरू, नयाँ जन्मने बच्चाहरू चाहिँ अझै पनि आइरहेका छन् । त्यो चाहिँ अलिकति त्यति खुसीको समाचार छैन । तर राम्रो कुरा चाहिँ बिरामीहरूको पहिचानका लागि अब जाँचहरू भेरी लगायत विभिन्न सरकारी अस्पताल, निजी अस्पतालहरूमा पनि छन् । भेरीमा निःशुल्क जाँच छ । पहिचान गर्नका लागि चाहिँ सजिलो छ । उन्मूलन चाहिँ अझै भइसकेको अवस्था छैन ।
त्यसो हो भने यो पछिल्लो तीन वर्षयता घट्दो तथ्यांकले के संकेत गर्छ ?
घट्दो भन्दा पनि कस्तो भने बिरामी त अब त्यो एकचोटि रोग भइसकेपछि त रोग बाँचुन्जेल रहिरहने भयो । रोगीको संख्या बढेको छ । हरेक वर्ष नयाँ दर्ता हुने बिरामी चाहिँ केही घट्दो हो । तर, समग्र बिरामीको संख्या त बढ्दो छ । किनभने त्यो एकचोटि भइसकेपछि यो जिन्दगीभर रहन्छ । अब हामीले खोजेको चाहिँ नयाँ–नयाँ दर्ता हुने शून्य होस् भनेको । नयाँ–नयाँ वर्षमा चाहिँ सिकल सेलका बिरामीहरू दर्ता हुने क्रम शून्य भन्नका लागि चाहिँ समुदायमा अझै पनि जनचेतना, परीक्षण कार्यक्रम, वैवाहिक सम्बन्ध हुँदा कसरी गर्ने भन्ने सूचना स्थानीय तहमा अझ पूरा भएन भन्ने जनाउँछ ।
तपाईं उपचार मात्रै होइन, अभियानमा पनि उत्तिकै सहभागी हुनुभयो, अभियानको दृष्टिकोणबाट, एउटा अभियन्ताकै दृष्टिकोणले भन्दाखेरि चाहिँ हामीले अब के बाँकी छ गर्न सिकलसेलमा ?
समुदायमा सबै युवायुवतीको, रोगीहरू लक्षण भएको त बिरामी हुन्छन्, लक्षण होस् वा नहोस्, अविवाहित युवायुवती सबैको एकपटक, जिन्दगीमा एकपटक चाहिँ हिमोग्लोबिन इलेक्ट्रोफोरेसिसको माध्यमबाट रोग वा वाहक पहिचान गरेर विवाह गर्दा चाहिँ सिकल थालेसिया कुण्डली, त्यो कुण्डलीअनुसार चाहिँ विवाह गर्न आवश्यक छ । त्यो पाटो चाहिँ अझै पनि अन्तरको रूपमा छ ।
यसमा राज्यको भूमिका कहाँ देख्नुहुन्छ, या कसले के भूमिका खेल्ने भन्ने कोणबाट चाहिँ ?
यसमा मुख्यतया चाहिँ स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार तीन वटैको भूमिका छ । स्वास्थ्य क्षेत्रमा तीनटैको भूमिका पर्छ । तीनटामध्ये अझ बढी चाहिँ यस्तामा स्थानीय सरकारले बढी नेतृत्व लिनुपर्छ । आफ्नो जहाँ समुदायमा समस्या बढी छ, त्यहाँ चाहिँ जनचेतना, परीक्षणमा स्थानीय सरकारले बढी भूमिका लिनुपर्छ जस्तो लाग्छ ।































