नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि आज शुक्रबार उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ ।
निर्वाचन आयुक्त तिर्थराज ज्ञवालीले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार, आज उम्मेदवारी दर्ता फाराम वितरण, मनोनयन दर्ता र उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
शनिबार मनोनयन दर्ता उपर दाबी विरोध, छानबिन गरी नामावली प्रकाशन हुने निर्वाचन कार्यक्रम तय गरिएको छ । संघको आगामी कार्यकालका लागि आगामी भदौं ६ गते मतदान हुनेछ ।
संघमा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवि ओलीले आज शुक्रबार यसअघि व्यवसायी संघहरू बीच भएको सहमति सार्वजनिक गरेर सामूहिक रूपमा उम्मेदवारी दिइने बताएका छन् ।
अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवि ओली नेतृत्वको समूहले अध्यक्ष, कोषाध्यक्ष, वरिष्ठ सदस्य १, खुला सदस्य ४, एशोसिएट सदस्य २, वस्तुगत सदस्य १, मनोनित सदस्य २ गरी १२ जना पाउने छन् ।
त्यस्तै, अध्यक्ष पदका उम्मेदवार रहेका सञ्जय थापाको समूहले उपाध्यक्ष वाणिज्य, उपाध्यक्ष महिला, उपमहासचिव, खुला सदस्य ४, महिला सदस्य १ गरी ८ जना पाउने भएका छन् । त्यस्तै, कमल कार्कीको नेतृत्वको समूहले उपाध्यक्ष उद्योग, महासचिव, खुला सदस्य ३, वस्तुगत सदस्य १, महिला सदस्य १ गरी ६ जना पाउने सहमति भएको छ ।
यसअघिको निर्वाचनमा ओली राष्ट्रिय उद्योगी, व्यवसायी संघबाट समावेशी प्यानल मार्फत प्रथम उपाध्यक्ष निर्वाचित भएका थिए । कार्की नेपाल उद्योग तथा वाणिज्य महासंघ सँग आबद्ध छन् भने थापा प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघ बाँकेका अध्यक्ष हुन् ।






























