सुनसरीको कप्तानगञ्जबाट सुरु भएको हिन्दु–मुस्लिम साम्प्रदायिक तनाव केही समयमै मोरंग, सिराहा, सप्तरी, जनकपुर, वीरगञ्जलगायत तराई–मधेशका विभिन्न जिल्लामा फैलियो । अहिले अवस्था सामान्य बन्दै गएको देखिए पनि यस घटनाले हामी सबैलाई एउटा गम्भीर प्रश्न सोच्न बाध्य बनाएको छ—के हाम्रो समाजमा समुदायबीचको विश्वास कमजोर हुँदै गएको हो ?
यस घटनामा सुनसरीमा ३ र सिराहामा १ जनागरी चार जना युवाले ज्यान गुमाएका छन भने दर्जनौ घाइते भएका छन । करोडौं रूपैयाँ बराबरको धनसम्पत्ति नष्ट भएको छ, व्यक्तिका घर, पसल र सवारीसाधनमा आगजनी गरियो । सामाजिक सञ्जालमा एकअर्काप्रति घृणा फैलाउने सामग्री पनि प्रशस्तै देखियो । यी सबै घटना कुनै पनि सभ्य समाजका लागि चिन्ताको विषय भएकाछन । गएको भाद्र २३ र २४ का घटनामा जे भए झन्डै एकवर्ष पुग्ने लाग्दै गर्दा यसपाली मधेशमा त्यस्तै त्यसैको संकेतको स्वरूप देखिन्थ्यो । अहिले मधेशको तनाबका बाहिर आएका भिडियोहरूमा बालबालिकाहरू नै अग्रभागमा देखियो यो अर्को डरलाग्दो अवस्था हो ।
यो तनाब कसरि शुरु भयो भन्ने बिषयमा अहिले धेरै बहस मोहरमको झण्डा, बोलबम यात्राको डिजे वा जुलुसका विषयमा केन्द्रित भएको छ । यी विषयमा बहस हुनु स्वाभाविक पनि हो यहा कसैले कानुन उल्लङ्घन गरेको छ भने निष्पक्ष अनुसन्धान हुनुपर्छ र कानुनअनुसार कारबाही पनि हुनुपर्छ, यति हुदाहुदैपानी एउटा कुरा भने सुनसरीको घटनालाई डिजे वा झण्डाको विवादमा मात्र सीमित गरेर हेर्नु हुँदैन ।
डिजे, जुलुस वा कुनै एउटा घटना तत्काल देखिएको कारण हुन सक्छ यस्ता घटनाले मात्र ठूलो साम्प्रदायिक हिंसा गराउँदैनन् । यी र यस्ता घटना समाजमा समय–समयमा भैरहेकै हुन्छन, यदि समाजभित्र विश्वास बलियो छ भने यस्ता विवादहरू संवादबाट समाधान हुन सक्छन् र भैरहेकापनी हुन्छन । सामान्यतया समाजमा लामो समयदेखि अविश्वास, असन्तुष्टि, अपमानको भावना, संवाद र छलफलको कमी बढ्दै जान्छ, तब सानो घटना पनि ठूलो तनावमा बदलिन्छ । अहिले सुनसरीमा भएको पनि त्यहि हो ।
हामीले छिमेकी भारत, एशिया कै म्यानमार र युरोपको उत्तरी आयारल्यान्दलाईका साम्प्रदायिक तनावलाई हेर्ने हो भनेपनि त्यसका अनेकौ कारणहरू रहेका छन् । सन् १९४७ मा भारत विभाजन हुँदा धेरैले त्यसलाई हिन्दु–मुस्लिम धार्मिक द्वन्द्वका रूपमा सम्झन्छन् । तर इतिहासकारहरूका अनुसार त्यो केवल धर्मको कारण भएको थिएन । वर्षौंसम्म बढ्दै गएको राजनीतिक प्रतिस्पर्धा, समुदायबीचको अविश्वास र असुरक्षाले त्यसको वातावरण बनाएको थियो । विभाजन अन्तिम ट्रिगर मात्र बन्यो ।
त्यसपछि पनि भारतले समय–समयमा साम्प्रदायिक हिंसा भोग्यो । गुजरात र दिल्लीका घटनाले पनि देखियो कि समाजभित्र विश्वास कमजोर भइसकेको अवस्थामा सानो विवादले पनि ठूलो हिंसाको रूप लिन सक्छन ।
उत्तरी आयरल्यान्डमा क्याथोलिक र प्रोटेस्टेन्ट समुदायबीच तीन दशकसम्म हिंसा चल्यो । धेरैले त्यसलाई धार्मिक द्वन्द्व भने पनि वास्तविक समस्या समान अधिकार, राजनीतिक सहभागिता र राज्यप्रतिको विश्वाससँग जोडिएको थियो । जब संवाद सुरु भयो, सबै समुदायलाई सम्मानपूर्वक सहभागी गराइयो र समान अधिकार सुनिश्चित गरियो, तब शान्तिको आधार तयार भयो ।
म्यानमारको रोहिङ्ग्या संकटले पनि अर्को पाठ सिकाउँछ । कुनै समुदायले आफूलाई बराबरीको नागरिक मानिएको छैन भन्ने महसुस गर्न थाल्यो भने समाजमा दूरी बढ्छ । त्यसपछि सानो घटनाले पनि ठूलो संकट निम्त्याउन सक्छ ।
यी उदाहरणहरूको उद्देश्य नेपाललाई ती देशसँग तुलना गर्नु होइन । नेपालको समाज अझै पनि सहिष्णु र विविधताप्रति सम्मान गर्ने समाज हो तर इतिहासबाट सिक्नु बुद्धिमानी हुन्छ । द्वन्द्व एकै दिनमा सुरु हुँदैन हामी आफैले पनि दशवर्ष लामो सशस्त्र द्वन्द्व भोगेका र खेपेका छौ । द्वन्द्वका र त्यसका कारण धेरै अघिदेखि निर्माण भइरहेका हुन्छन् ।
त्यसैले सुनसरीको घटनामा तत्काल देखिएको विषयमा अनुसन्धान र कानुनी कारबाही आवश्यक छ । तर त्यससँगै अर्को प्रश्न पनि सोध्नुपर्छ—समुदायबीचको विश्वास किन कमजोर हुँदै गएको छ?
यदि आज डिजे विवाद भयो भने भोलि अर्को कुनै धार्मिक कार्यक्रम, सामाजिक सञ्जालको पोस्ट, अफवाह वा सामान्य विवाद पनि अर्को ट्रिगर बन्न सक्छ । त्यसैले हाम्रो बहस तत्काल देखिएको घटनामा मात्र सीमित हुनु हुँदैन । समस्या फेरि नदोहोरियोस् भने त्यसको मूल कारण पनि खोज्नुपर्छ ।
यहीँ आएर हामीले सद्भाव र सम्मान बीचको फरक बुझ्न आवश्यक हुन्छ । हामी धेरैजसो साम्प्रदायिक
सद्भावको कुरा गर्छौं, सद्भाव ¥याली निकाल्छौं, शान्तिको अपिल गर्छौं, यी सबै आवश्यक छन् । तर सद्भाव भनेको बाहिरबाट देखिने शान्तिपूर्ण सम्बन्ध मात्र हो । सम्मान भनेको अझ गहिरो कुरा हो यसको अर्थ अर्को व्यक्तिको धर्म, संस्कृति, भाषा, पहिचान र विश्वासलाई बराबरीको दृष्टिले हेर्नु हो । फरक आस्था भएकै कारण कसैलाई होच्याउने, अपमान गर्ने वा कम महत्व दिने प्रवृत्तिबाट टाढा रहनु हो । जहाँ सम्मान हुन्छ, त्यहाँ सद्भाव आफैं बलियो हुन्छ । त्यसैले समाजका सबै नागरिकले आफूलाई समान अवसर, समान अधिकार र समान सम्मान पाएको अनुभूति गर्नुपर्छ । चाहे उनीहरू महिला हुन्, दलित, मधेसी, आदिवासी जनजाति, मुस्लिम, हिन्दु, बौद्ध, किराँत, इसाई वा अन्य कुनै पनि समुदायका किन नहुन्, राज्यले सबैलाई बराबरीको व्यवहार गर्नुपर्छ ।
राज्यको भूमिका यहाँ सबैभन्दा महत्वपूर्ण हुन्छ । कानुन सबैका लागि समान रूपमा लागू भएको अनुभूति नागरिकमा हुनुपर्छ । प्रहरी, प्रशासन, अदालत र स्थानीय सरकारप्रति सबै समुदायले विश्वास गर्न सक्नुपर्छ । जब राज्यप्रतिको विश्वास बलियो हुन्छ, अफवाह कमजोर हुन्छ । जब विश्वास कमजोर हुन्छ, अफवाहले सजिलै हिंसाको रूप लिन सक्छ ।
राजनीतिक नेतृत्व, धार्मिक अगुवा, सञ्चारमाध्यम, शिक्षक र नागरिक समाजको पनि उत्तिकै जिम्मेवारी छ । छोटो समयको राजनीतिक वा सामाजिक लाभका लागि समुदायबीचको संवेदनशीलतालाई प्रयोग गर्नु कसैका लागि पनि हितकर हुँदैन । बरु संवाद, सहकार्य र आपसी सम्मानलाई बढावा दिने वातावरण बनाउनुपर्छ ।
नेपालले दशकौँ लामो सशस्त्र द्वन्द्वबाट एउटा महत्वपूर्ण पाठ सिकेको छ । दिगो शान्ति केवल सुरक्षा व्यवस्थाले कायम हुँदैन । शान्ति टिकाउने आधार विश्वास, न्याय, समानता र सम्मान हुन् । सुनसरीको घटनाले हामीलाई दोषी खोज्नेभन्दा पनि आफूलाई सुधार्ने अवसर दिएको छ । अब हाम्रो प्रश्न केवल “के भयो?“ भन्ने होइन, “भोलि यस्तो फेरि नहोस् भन्नका लागि आज के सुधार गर्ने?“ भन्ने हुनुपर्छ ।
दिगो शान्ति चाहने समाजले तत्काल देखिएको ट्रिगरलाई पनि नियन्त्रण गर्छ र त्यससँगै त्यसको मूल कारणलाई पनि सम्बोधन गर्छ । यदि हामीले मूल कारणलाई बेवास्ता ग¥यौं भने आज डिजे, भोलि अर्को कुनै बहाना नयाँ तनावको कारण बन्न सक्छ । त्यसैले अब हाम्रो सार्वजनिक बहस सद्भावको नारामा मात्र सीमित हुनु हुँदैन । प्रत्येक नागरिकले आफूलाई समान सम्मान, समान अवसर र समान नागरिक हैसियत भएको महसुस गर्ने समाज निर्माण गर्नुपर्छ ।
किनभने जहाँ सम्मान हुन्छ, त्यहाँ विश्वास हुन्छ । जहाँ विश्वास हुन्छ, त्यहाँ संवाद हुन्छ र जहाँ संवाद हुन्छ, त्यहाँ द्वन्द्वको सम्भावना स्वतः कम हुँदै जान्छ । सायद आजको नेपाललाई सबैभन्दा बढी आवश्यक कुरा यही हो—सद्भावसँगै सम्मान ।




























