नेतृत्वमा सर्वसम्मतिको पहल
नेपाल प्रेस युनियन बाँकेको १३ औँ जिल्ला अधिवेशन भदौ ६ गते नेपालगन्जमा हुने भएको छ । अधिवेशनको मिति तय भएसँगै युनियनमा नयाँ नेतृत्व चयनको तयारीसमेत अघि बढेको छ ।
युनियन बाँकेको शनिबार बसेको कार्यसमिति बैठकले अधिवेशन तथा साधारण सभा भदौ ६ गते शनिबार नेपालगन्जमा गर्ने निर्णय गरेको हो । जिल्ला अध्यक्ष प्रियास्मृति ढकालका अनुसार, केन्द्रिय समितिले तोकेको समयसीमाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको छ ।
अध्यक्ष ढकालले अधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धाभन्दा सहमतिलाई प्राथमिकता दिने बताए । ‘अहिलेको परिस्थितिमा प्रतिस्पर्धाभन्दा सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखिएको छ,’ उनले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको वातावरण बनाउने पहल गरिनेछ ।
युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले पनि अधिवेशन र साधारण सभा एकै दिन गर्ने निर्णय भएको जानकारी दिए । उनले व्यवसायिक पत्रकारितालाई थप सशक्त बनाउन युनियनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताए । उपाध्यक्षको जिम्मेवारीमा रहेकाले खत्री स्वतः नेतृत्वको दावेदारीमा छन् ।
अधिवेशनको तयारीसँगै निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन समिति गठन गर्ने निर्णय पनि भएको छ । बैठकपछि सचिव भीष्म लोधले जारी गरेको विज्ञप्तिमा अधिवक्ता केशव कोइराला संयोजक रहने गरी निर्वाचन समिति गठन गर्ने निर्णय भएको उल्लेख छ ।
शाखा अध्यक्ष ढकालको अध्यक्षतामा शनिबार बसेको कार्यसमिति बैठकले अधिवेशनको मिति तय गरेको हो । बैठकले जिल्ला अधिवेशनसँगै साधारण सभा गर्ने निर्णय गरेको र निर्वाचन प्रक्रिया अघि बढाउन आवश्यक तयारी थाल्ने निर्णय गरेको युनियन बाँकेले जनाएको छ ।































