भेरी इङ्गलिस मिडियम स्कुलका २०६६ सालका एसएलसी ब्याचको पुनर्मिलन
भेरी इङ्गलिस मिडियम स्कुलका २०६६ सालका एसएलसी ब्याचका विद्यार्थीहरू १७ वर्षपछि एकै ठाउँमा भेला भएका छन् । शनिबार नेपालगन्जस्थित सुनाखरी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा उनीहरूले पुराना गुरुजनसँग भेटघाट गर्नुका साथै विद्यालय जीवनका सम्झना साटासाट गरे ।
लामो समयपछि भएको भेटघाटमा विद्यार्थीहरूले आफ्ना गुरुजनलाई सम्मानसमेत गरेका छन् । विद्यालय छाडेपछि आ–आफ्नो क्षेत्रमा सक्रिय रहेका विद्यार्थीहरू पहिलोपटक यसरी सामूहिक रूपमा भेला भएका हुन् । कार्यक्रमले पुराना सहपाठीबीचको सम्बन्धलाई पुनः जोड्ने अवसर दिएको सहभागीहरूले बताएका छन् । ‘त्यतिमात्रै होइन, अहिले शिक्षकहरुपनि अन्यत्रबाट आइपुग्नु हुँदा निकै राम्रो महसुस भयो,’ विद्यार्थीहरु उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने ।
विद्यालय जीवनका सम्झनालाई पुनः ताजा बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले आफूले पढेका कक्षाकोठा, बिताएका दिन र गुरुजनबाट पाएका सिकाइबारे चर्चा गरे । ‘लामो समयपछि भेट हुँदा उनीहरूबीच विद्यालयका रमाइला घटनादेखि तीता–मीठा अनुभवसम्मका कुरा भए,’ कार्यक्रमको अगुवाई गरेका पूर्व विद्यार्थी अल्ताफ बागवानले दैनिक नेपालगन्जसँग भने ।
कार्यक्रमको सुरुवात सामूहिक रूपमा केक काटेर गरिएको थियो । त्यसपछि विद्यार्थीहरूले आफ्ना गुरुजनसँग पुराना अनुभव सुनाए । सहपाठीहरूबीच पनि विगतका घटनाहरू सम्झिँदै आपसमा अनुभव आदानप्रदान भयो । ‘त्यसमा विद्यालयका संस्थापक÷प्रिन्सीपल नरेन्द्र श्रेष्ठ, गुरुमा विना श्रेष्ठ, शिक्षकहरु म्नोज गिरी, कोमल बकरिया, सतिश थापा, दीपक खत्री, आशीष गुप्त, केशव गुरुङ, लेखनाथ सर लगायतको सहभागिताले हामीलाई उत्साहित बनायो, विद्यार्थीहरुले भने ।
विद्यार्थीहरूले विद्यालयमा अध्ययन गर्दाका समय गुरुजनबाट पाएका प्रेरणा र उपदेशलाई अहिले पनि सम्झिरहेका बताए । विद्यालय जीवनमा गुरुहरूले दिएको शिक्षा र मार्गदर्शनले आफूहरूलाई अगाडि बढ्न सहयोग गरेको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा सहभागी गुरुजनहरूले पनि पुराना विद्यार्थीहरूलाई लामो समयपछि एकै ठाउँमा देख्न पाउँदा खुसी लागेको बताए । उनीहरूले विद्यार्थीहरू आफ्नो क्षेत्रमा अघि बढेको देख्दा गर्व लागेको बताए । यस्ता भेटघाटले गुरु र विद्यार्थीबीचको सम्बन्धलाई अझ बलियो बनाउने उनीहरूको धारणा थियो ।
गुरुजनहरूले विद्यालयमा बिताएका पुराना दिन सम्झिँदै विद्यार्थीहरूको प्रगति नै आफूहरूका लागि खुसीको विषय भएको बताए । ’पुराना विद्यार्थीहरू यसरी एकै ठाउँमा भेला भएर आफ्ना गुरुजनलाई सम्झिनु आफैंमा महत्वपूर्ण कुरा हो,’ उनीहरूले भने ।
करिब १७ वर्षपछि भएको पुनर्मिलनले विद्यार्थीहरूलाई पुराना साथीहरूसँगको सम्बन्ध नवीकरण गर्ने अवसर पनि दिएको थियो । लामो समयदेखि सम्पर्कमा नरहेका कतिपय सहपाठीसमेत कार्यक्रममा भेटिएका थिए । भेटका क्रममा विद्यालयमा सँगै बिताएका समय र त्यसबेलाका गतिविधि सम्झिँदै उनीहरूले आत्मीयता साटे ।
आफ्ना गुरुजनप्रति सम्मान व्यक्त गर्ने र विद्यालय जीवनका सम्झनालाई पुनर्जीवित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले सहभागी विद्यार्थी र गुरुजनबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको आयोजक विद्यार्थीहरूले बताएका छन् । ‘२०६६ सालको एसएलसी ब्याचले पहिलोपटक आयोजना गरेको यो पुनर्मिलन कार्यक्रमले पुराना सहपाठीलाई फेरि एउटै थलोमा जोडेको हो,’ हाल युवा उद्यमीहरुको संगठन हाँकिरहेका अल्ताफले भने ।































