लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले विकास निर्माणका योजना प्रभावकारी र गुणस्तरीय बनाउन स्थानीय बासिन्दाको सक्रिय निगरानी आवश्यक रहेको बताएका छन् । सरकार एक्लैको प्रयासले मात्रै विकासका काम प्रभावकारी नहुने भन्दै उनले स्थानीय समुदाय र सरकारी निकायबीच नियमित समन्वय हुनुपर्नेमा जोड दिए ।
बाँकेको कोहलपुर नगरपालिका–२ गौरीडाँडामा आइतबार स्थानीयवासीसँग भएको भेटघाट तथा छलफलमा मन्त्री खत्रीले आफ्नो घरआँगन र बस्तीमा सञ्चालन हुने योजनाको प्रगति तथा गुणस्तरबारे स्थानीयले चासो राख्नुपर्ने बताए । विकासका काममा स्थानीयको खबरदारीले निर्माणमा हुने ढिलाइ र गुणस्तरसम्बन्धी समस्या कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
’घर अगाडि हुने विकास निर्माणका काम समयमै र गुणस्तरीय ढङ्गले सम्पन्न गराउन स्थानीय बासिन्दा स्वयं चनाखो हुनुपर्छ, विकासका काम सरकारको मात्र जिम्मेवारी होइन, स्थानीय समुदायको पनि उत्तिकै भूमिका हुन्छ’, उनले भने ।
मन्त्री खत्रीले प्रदेश सरकारले ग्रामीण क्षेत्रको सडक र पुल निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । चालु आर्थिक वर्षका विकास योजनाको कार्यान्वयन प्रक्रिया अघि बढिसकेको बताउँदै उनले समयमै काम सक्ने गरी सम्बन्धित निकायसँग आवश्यक समन्वय र निर्देशन गरिएको बताए ।
प्रदेश सरकारसँग उपलब्ध बजेट सीमित रहेकाले स्थानीयका सबै माग तत्काल पूरा गर्न नसकिएको उनले स्वीकार गरे । नागरिकको आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट गरी उपलब्ध स्रोतसाधनको अधिकतम उपयोगबाट विकासको पहुँच विस्तार गर्ने प्रयास भइरहेको उनले बताए ।
’बजेट सीमित छ । सबै माग एकैपटक सम्बोधन गर्न सकिने अवस्था छैन’, मन्त्री खत्रीले स्थानीयवासीसँगको छलफलमा बताएका थिए । उनका अनुसार प्राथमिकताका आधारमा क्रमशः माग सम्बोधन गर्दै जाने प्रदेश सरकारको नीति रहेको छ ।
विकास योजनामा निर्माण व्यवसायी, प्राविधिक, सरकारी निकाय र स्थानीयबीच निरन्तर सम्पर्क आवश्यक रहेको मन्त्री खत्रीले बताए । स्थानीयको सहभागिता र निगरानी भएमा योजनाको गुणस्तर कायम गर्न तथा निर्माणका क्रममा देखिने समस्या समयमै समाधान गर्न सहज हुने उनले बताए ।
भेटघाटमा स्थानीयवासीले सडक, पुल, खानेपानी, नालीलगायत पूर्वाधारसँग जोडिएका समस्या मन्त्री खत्रीसमक्ष राखेका थिए । स्थानीयका आवश्यकता र गुनासो सुनेपछि उनले प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने विषयलाई सम्भव भएसम्म प्राथमिकताका साथ सम्बोधन गर्ने बताए ।
स्थानीयवासीसँग प्रत्यक्ष छलफल गर्दा योजनाको वास्तविक आवश्यकता पहिचान गर्न र कार्यान्वयनमा देखिएका समस्या बुझ्न सहज हुने मन्त्री खत्रीले बताए । प्रदेशबाट सञ्चालन हुने योजनाको प्रभावकारिता बढाउन स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकता दिइएको उनले स्पष्ट पारे ।
यसै क्रममा मन्त्री खत्रीले बाँकेको बैजनाथ गाउँपालिकाका चिसापानी, डिगिया र तिलकपुरलगायत क्षेत्रमा पुगेर स्थानीयवासीसँग विकास निर्माणका विषयमा छलफल गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालले पछिल्लो एक दशकमा नेपालले विकास निर्माणका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए । सडक, पुल, विद्युत्, सञ्चारलगायत भौतिक पूर्वाधार विस्तार हुँदा नागरिकको दैनिक जीवनमा सकारात्मक परिवर्तन आएको उनले बताए ।






























