कास्की ।
ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-८ सिमलचौर डेरा गरी बस्नेहरू पर्वत कुश्मा नगरपालिका-२ खुर्कोट घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र पर्वत कुश्मा नगरपालिका-१४ आर्थर घर भएका ४२ वर्षीय दिपक बहादुर क्षेत्री रहेका छन् ।
पोखरा महानगरपालिका-१६ लामाचौर घर भई सच्चाई सेवा केन्द्रका संचालक तथा सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाश दिप गैरेलाई फोन तथा म्यासेज मार्फत ५ करोड रूपैयाँ माग गरेको र उक्त रकम नदिएमा ज्यान मार्ने धम्की दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट अवैध लागूऔषध गाँजा ५ सय ७२ ग्राम, भरूवा बन्दुकमा लाग्ने केप २७ थान, विभिन्न व्यक्तिहरुको नाम उल्लेख गरिएको पान्ना ८ थान, मोवाइल ४ थान, सिमकार्ड ९ थान, खुकुरी १ थान लगायतका सामान बरामद भएको छ । दिपक बहादुर क्षेत्री उपर जिल्ला प्रहरी कार्यालय पर्वतबाट २०७९ सालमा हातहतियार तथा खरखजना सम्बन्धि मुद्दा चलेको तथा २०७१ सालमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट अभद्र व्यवहार सम्बन्धि मुद्दा चलेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर लागूऔषध गाँजा, हातहतियार तथा खरखजना तथा आपराधिक लाभ एक्सटर्सन सम्बन्धि मुद्दामा अनुसन्धान तथा कारवाही प्रकृया अगाडि बढाएको छ ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.