सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर–११ बाँकेको कोहलपुरमा जारि सुशील कोइराला मेमोरियल यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुगेका छन् । उपाधिको लागि बिहिबार सुदूरपश्चिम र कोहलपुर मेयर–११ बीचको खेल कोहलपुर क्रिकेट मैदानमा बिहान १० बजे प्रतिस्पर्धा गर्नेछन् ।
कोहलपुर नगरपालिका द्वारा आयोजित प्रतियोगिताको लिग चरणको सबै खेल समाप्त हुँदा सबै चार खेल जित्दै ८ अंक सहित कोहलपुर मेयर–११ अंकतालिकाको शिर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गर्यो । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको समान ४ अंक रहेता पनि नेट रन रेटमा अघि रहँदै सुदूरपश्चिम अंकतालिकाको दोश्रो स्थानमा रहेर फाइनल प्रवेश गर्यो । सुदूरपश्चिमको नेट रन रेट ०.०६६१, गण्डकीको ०.३१५ र बागमतीको –०.४९२ रह्यो ।
प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर–११ विजयी भए । सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई तथा कोहलपुर मेयर–११ ले बागमती प्रदेशलाई पराजित गर्यो । बुधवारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्यो । लुम्बिनीले दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेट गुमाएर ७.४ ओभरमा भेटायो ।
सुदूरपश्चिमको लागि मनिषा बोहराले १४ बलमा ४ चौका मद्दतले सर्वाधिक २३ तथा अनु कडायतले १७ बलमा ३ चौका मद्दतले १८ रन योगदान दिइन् । स्नेहा महराले १० रन योगदान दिइन् । लुम्बिनीको बलिंगमा सुश्मिता भुसालले २ र सरु तिवारीले १ विकेट लिइन् । यस अघि टस जितेर ब्याटिङ्ग गरेको लुम्बिनीले १९.३ ओभरमा ५९ रनमा सबै विकेट गुमायो । लुम्बिनीको लागि एन्जिला पाठकले सर्वाधिक १७ रन योगदान दिइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमले अतिरिक्तको रूपमा १७ रन खर्चियो ।
सुदूरपश्चिमको बलिङ्गमा रबिना साउदले सर्वाधिक ३ विकेट लिईन्। प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा ९ रन खर्चिन् । करिश्मा थापाले २ तथा अनु कडायत र निशा खडायतले १÷१ विकेट लिइन् । बुधवारको दोश्रो खेलमा कोहलपुर मेयर–११ ले बागमती प्रदेशलाई ४६ रनले पराजित गर्यो । कोहलपुर मेयर–११ ले दिएको १३३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो । बागमतीको लागि बिपिशा शाहीले सर्वाधिक २१ रन, अलिशा खड्काले १८ तथा क्रिश्मा गुरुङले १६ रन योगदान दिइन् ।
कोहलपुर मेयर–११ को बलिङ्गमा प्रतिमा शाहले २ विकेट लिंदा भवानी कमाती, आरति महतो, दिक्ष्या पुरी र रिया शर्माले १÷१ विकेट लिए । टस जितेर ब्याटिङ्ग गरको कोहलपुर मेयर–११ ले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १३२ रन बनायो । कोहलपुरको लागि कप्तान साना प्रभिनले अविजित ४८ तथा अविजित एलिशा यादवले ४७ रन बनाए । प्रभिनले ६० बलमा ५ चौका तथा यादवले ४६ बलमा ६ चौका प्रहार गरे । किरन कुँवरले १५ रन बनाए । दोश्रो विकेटको लागि प्रभिन र यादवले अविजित १०३ रनको साझेदारी गरे। खेलको प्लेयर अफ द म्याच साना प्रभिन घोषित भइन् ।