नेपालमा क्रिप्टोकरेन्सीको कारोबारलाई कानुनी मान्यता छैन । क्रिप्टोकरेन्सीको कारोबार गरेको फेला परे कानुन बमोजिम कारवाही पनि हुन्छ । तर, पनि नेपालमा क्रिप्टोकरेन्सीको कारोबार भैरहेको फेला पर्ने गरेको छ । पछिल्लो समय प्रहरीले समेत अवैध रहेको क्रिप्टोको कारोबार नियन्त्रणको प्रयास गरेको छ ।
क्रिप्टोकरेन्सी भनेको भर्चूअल मुद्रा हो । यसको अस्तित्व अनलाइनमा सीमित रहन्छ । तर, यसको मूल्य तोकिएको हुन्छ । क्रिप्टोकरेन्सीको प्रयोग गरेर सरसामान किन्न वा भुक्तानी गर्न सकिन्छ । यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ । नेपालमा अवैधानिक क्रिप्टोको कारोबार गरेर कमाउ धन्दामा लाग्नेहरू कारवाहीको दायरामा आउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले क्रिप्टोको कारोबारको आरोपमा बाँकेका दुई जनालाई पक्राउ गरेर पाँच दिन म्याद थप गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् । उनले दैनिक एक करोड बराबरको क्रिप्टोको कारोबार भएको प्रारम्भिक अनुसन्धानमा आशंका गरिएको जानकारी दिए । ‘अनुसन्धानको क्रममा छौं, अन्य पनि संलग्न रहेको खुले कारवाहीको दायरामा ल्याउने छौं’, उनले भने । प्रहरीले नेपालगन्ज–१८ का अमृत कुमार बर्मा र जानकी गाउँपालिकाका रियाज खाँलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक डाँगीले पक्राउ परेकाहरूमाथि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान अगाडि बढाएको बताए ।
प्रहरीका अनुसार, विदेशमा बस्ने नेपाली र विदेशीहरूको सहयोग र संलग्नतामा नेपालमा रहेर क्रिप्टोकरेन्सीको कारोबार हुने गरेको पाइएको छ । विदेशमा भएका मानिसहरूले क्रिप्टो किनेर उनीहरूको खातामा हालिदिने उनीहरूले नेपालमा बसेर कारोबार गर्ने गरेको पाइएको प्रहरी अधिकारी बताउँछन् ।






























