वेस्टर्न हस्पिटलले क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा विस्तृत क्रिटिकल केयर कोर्सको औपचारिक सुरुआत गरेको छ ।
पाँच हप्ताको यो प्रशिक्षण कार्यक्रमले क्रिटिकल केयर क्षेत्रमा कार्यरत नर्सहरूको सीप र दक्षता बढाएर बिरामीहरूलाई विश्वस्तरीय हेरचाह उपलब्ध गराउन सक्षम बनाउने उद्देश्य राखेको हस्पिटलले राखेको छ ।
प्रशिक्षण कार्यक्रमले सैद्धान्तिक ज्ञान, व्यावहारिक प्रशिक्षण, र केस–आधारित सिकाइको समन्वय गरी गहन पाठ्यक्रम प्रदान गर्ने विश्वास उद्घाटन कार्यक्रममा वक्ताहरूले राखेका थिए । ‘सहभागीहरूले जटिल क्रिटिकल केयर केसहरूको व्यवस्थापन, अत्याधुनिक उपकरणहरूको प्रयोग, र प्रमाण–आधारित अभ्यासबाट बिरामीको स्वास्थ्य सुधार गर्ने विशेषज्ञता प्राप्त गर्नेछन्’, उद्घाटन कार्यक्रममा वक्ताहरूले भने ।
‘यो पहल हाम्रो क्षेत्रमा क्रिटिकल केयर सेवाहरूलाई मजबुत बनाउने एउटा महत्वपूर्ण कोशेढुंगा हो’, कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा। विनोद कुमार थापाले भने, ‘सिसिएनएएन सँगको सहकार्यबाट, हामी नर्सहरूलाई उच्च–दबाव वातावरणमा उत्कृष्टता हासिल गर्न आवश्यक उपकरण र आत्मविश्वास प्रदान गर्न चाहन्छौं, जसले धेरै जीवन बचाउन मद्दत गर्दछ ।’
सिसिएनएनकी उपाध्यक्ष कबिता सिटौलाले प्रशिक्षणले नर्सिङ मापदण्डलाई सुधार गर्न योगदान पुर्याउने धारणा राखिन् । उनले भनिन्, ‘पहिलो पटक यस प्रकारको विशेष कार्यक्रम नेपालका पश्चिमी क्षेत्रमा आयोजित गरिएको छ, जसले नर्सहरूलाई क्रिटिकल केयरका चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछ र अन्ततः बिरामीको परिणाम सुधार गर्दछ ।’
वेस्टर्न हस्पिटलले प्रमाण–आधारित अभ्यासमार्फत नर्सहरूलाई सशक्त बनाउन र स्वास्थ्य सेवा क्षेत्रमा बलियो जनशक्ति निर्माण गर्नको प्रतिबद्धतालाई व्यक्त गरेको
छ ।
नेपाल मेडिकल एशोसिएसन, भेरी शाखा अध्यक्ष र वेस्टर्न हस्पिटलका अध्यक्ष डा। विनोद कुमार थापा, वेस्टर्न हस्पिटलका निर्देशक डा। कल्पना थापा, उपाध्यक्ष कबिता सिटौला र बरुणा पौडेलले संयुक्त रूपमा उद्घाटन गरेको प्रशिक्षण कार्यक्रममा डा। निर्मल ज्ञवाली, डा। रूपानन्द अधिकारी, डा। किरण गुरुङ, डा। पारस पाण्डे, डा। रवि स्वार, र डा। प्रबिन गुप्ता लयायत अन्य अथितिको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।