नेपालगन्ज उपमहानगरपालिकाले व्यवसायिक सटर सहितको एउटा घरमा मंगलबार डोजर लगाएर भत्काइदिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ को आदर्श टोलदेखि चन्दननाथ टोल जोड्ने बाटोमा रहेको सुवास कुमार श्रेष्ठको घरमा मंगलबार डोजर लगाइएको हो । प्रहरी सुरक्षा सहित गएको उपमहानगरपालिकाको टोलीले श्रेष्ठको ६ धुरमा बनेको पक्की घर भत्काइदिएको छ । ‘सुरुमा घरधनीले अवरोध गर्न खोजेपनि प्रहरीको दलबल पछि उनी पछाडि हटेका थिए’, दैनिक नेपालगन्जसँग भने, ‘डोजरले घरलाई क्षति पुर्याएपनि पुरै भत्काउन भने सकेन ।’
नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको अवैध संरचना हटाउन अदालतको आदेश कार्यान्वयन गरिएको बताएको छ । ‘२० बर्ष अघिदेखि सार्वजनिक नाला र सडक कब्जा गरी बनाइएको घर, पसल सबै कानुनी प्रक्रिया पूरा गरी भत्काइएको हो’, नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले दैनिक नेपालगन्जसँग भने, ‘निकै बलियोसँग बनेकोले डोजरले एकै दिनमा भत्काउन सकेन, भोलि आएर बाँकी काम गर्छ ।’
नेपालगन्ज–१ का वडाध्यक्ष समेत रहेका प्रवक्ता रिजालले अवैध संरचना हटाउन समझदारीका लागि निकै पटक गरिएको प्रयास असफल भएकाले अन्ततः अदालती आदेशको कार्यान्वयन गर्नुपरेको बताए । ‘जिल्ला र पुनरावेदनबाट हारिसकेपछि पनि घरधनी श्रेष्ठ वडाको सम्पर्कमा आएर छलफलसम्म गर्न चाहेनन्’, वडाध्यक्ष रिजालले सार्वजनिक नाला र बाटो अतिक्रमण गरिंदा आवागमन तथा पानीको निकासमै समस्या परेको जानकारी दिंदै भने, ‘अन्ततः भत्काउनुको विकल्प थिएन ।’
घरधनी श्रेष्ठले भने आफै भत्काउन समय माग गर्दा समेत नदिइएको गुनासो गर्दै आएका छन् । ‘पटकपटक म्याद दिंदा समेत अवैध संरचना भत्काउन अटेरी गरेकाले डोजर लगाउनु परेको हो’, प्रवक्ता रिजालले भने ।