आज बिहीबारदेखि नेपालगन्जमा नेपालगन्ज कन्क्लेभ गरिंदैछ । दुई दिने कन्क्लेभको आयोजना तयारी पूरा भएको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्स र नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरले यसको महत्व र आवश्यकताबारे जानकारी दियो ।
नेपालगन्ज म्याराथनको सेरोफेरोमा आयोजना गर्दै आएको नेपालगन्ज कन्क्लेभलाई आयोजकले ‘नेपालगन्ज डिस्कोर्स’ भनेको छ । कन्क्लेभका रूपमा दोस्रो आयोजना भएपनि बहसका रूपमा आयोजनाको चौथो संस्करणका रूपमा लिइएको जानकारी दिंदै क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले नेपालगन्जलाई बहसको श्रृंखलामा जोडेर एउटा उचाई दिन खोजिएको बताए ।
नेपालगन्ज म्याराथनको पूर्व सन्ध्यामा विभिन्न क्षेत्रका विज्ञलाई एकै थलोमा जम्मा गरी विभिन्न विषयगत बहस गरिने सो कनक्लेभको यो दोस्रो र डिस्कोर्सको चौथो संस्करण भएको भन्दै अध्यक्ष ठकुरीले भने, ‘यसले पक्कै नेपालगन्जका बहुआयामिक पक्षलाई बहसमा ल्याउँछ ।’
आयोजकका अनुसार, यस संस्करणमा जीवन संघर्ष र प्राप्ति, देशले गर्छ विद्युत् निर्यात नेपालगन्जले भोग्छ ऊर्जा संकट, व्यापार घाटाको दिगो व्यवस्थापन निर्यात बस्तुमा मूल्यवृद्धि, पर्यटनको नक्सामा पश्चिम नेपालको नयाँ सर्किट, नेतृत्वको खडेरी नयाँ दलमा देशमा, किन दौडिन्छ मान्छे, साहित्य र सिनेमाको ऐनामा समाज रूपान्तरणको चित्रजस्ता विषयमा दुई दिनसम्म बहस गरि निष्कर्ष खोजिनेछ ।
नेपालगन्ज कनक्लेभको लागि आउने विज्ञहरू नेपालगन्ज पुग्न सुरु भएको र आज बिहीबार बिहानदेखि मेरो प्लानेटमा सवा १० बजेदेखि कार्यक्रम सुरु हुने गरी तयारी अगाडि बढाइएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।
‘गतिशिल र सभ्य समाजका लागि छलफलहरू निकै महत्वपूर्ण हुन्छन्’, नेपालगन्ज कन्क्लेभका डाइरेक्टर जनक नेपालले आयोजना निकै महत्वपूर्ण भएको तर्क गर्दै भने, ‘यो बहसले भोलि नै परिणाम दिन्छ भन्ने होइन, बहस निरन्तर प्रक्रिया भएकाले समाज परिवर्तनमा यसले मुख्य भूमिका खेल्छ ।’ डाइरेक्टर नेपालले बहस, छलफल र अन्तरक्रियालाई एउटा संस्कृतिकै रूपमा विकास गर्न खोजिएको तर्क गर्दै नेपालगन्ज कन्क्लेभले समाजको सकारात्मक दिशा निर्देशका लागि बहस पैरवी गर्ने बताए ।
‘समाज सचेत भयो भने नेतृत्व सचेत हुन बाध्य हुन्छ । नेतृत्व सचेत भयो भने मात्रै परिवर्तन सम्भव हुन्छ । यो विचार मन्थन गर्ने मञ्च हो’, नेपालगन्ज कन्क्लेभका को–डाइरेक्टर डा. ओम मिश्रले पत्रकारहरूसँग भने, ‘पटकपटकको विचार मन्थनबाट समाज सचेत बनाउँदै नेतृत्व मार्फत समाज परिवर्तनका लागि नेपालगन्ज कन्क्लेभ सानो पाइला हो ।’ डा. मिश्रले विचार निर्माण गर्न होस् वा बहशमा सहभागिताका लागि होस् नेपालगन्जबासी कन्क्लेभका हरेक सत्रमा सहभागी हुन आवश्यक भएको बताए ।
नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक केएल दुगड समूहका महाप्रबन्धक प्रदिप छाजेड, म्याराथनका टेक्निकल हेड चन्द्र गुरुङ्ग लगायतको सहभागितामा भएको पत्रकार सम्मेलनमा आयोजकले भन्यो, ‘यो नेपालगन्जबासी सबैको साझा कार्यक्रम हो, त्यसैले छलफलमा रुचि एवं चासो राख्ने सबैलाई सहभागिताका लागि निमन्त्रण छ ।’
‘नेपालगन्ज कन्क्लेभ बहसको औपचारिक कार्यक्रम मात्र नभई नयाँ बहस सिर्जना गर्ने र अहिलेका समस्याहरूको समाधान खोज्ने थलो बन्नेछ भन्ने हाम्रो विश्वास छ’, आयोजकले तयारी पूरा भएको जानकारी दिन जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
नेपालगन्ज डिस्कोर्सका अघिल्ला तीन संस्करण जस्तै यस पटकको कन्क्लेभमा पनि बहसले उपलब्धीमूलक दिशा निर्देश गर्ने विश्वास आयोजकको छ ।





























