आज शनिबार धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण गरिंदैछ । आयोजक क्रियटिभ ह्याण्डसले ‘दशकउत्सव’ का रूपमा यसअघि देखि नै म्याराथनको पूर्व तयारीका विभिन्न इभेन्टहरू आयोजना गरिरहेको छ । ‘सिंगो सहर दौडाउने अभियानलाई यस बर्षदेखि ग्रामीण क्षेत्रमा पनि पुर्याएका छौं’, शनिबार आयोजना हुने दशौं संस्करणको मुख्य इभेन्ट म्याराथन तयारी पूरा भएको जानकारी दिंदै नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले शुक्रबार राती दैनिक नेपालगन्जसँग भने, ‘खेलाडीहरू सबै जना आइसक्नु भएको छ, नेपालगन्जबासी सडकमा आएर उहाँहरूलाई स्वागत र हौसला प्रदान गरिदिनुहुन आव्हान गर्दछौं ।’
अध्यक्ष ठकुरीका अनुसार, औपचारिक रूपमै म्याराथनमा सहभागिताका लागि नाम दर्ता गरेका हजार बढी खेलाडी नेपालगन्ज आइसकेका छन् । ‘थप खेलाडीहरू, कर्पोरेट रनर, वाकाथन, किड्स रन लगायतका विभिन्न विधाका सहभागिता रहनेछ’, ठकुरीले भने, ‘म्याराथनको रुट व्यवस्थापन र तयारीका सबै कामहरू शुक्रबार अबेर राती नै पूरा गरिएका छन् ।’
आयोजनालाई दशकउत्सव भनेको आयोजकले यस बर्ष केही विधामा नगद पुरस्कार राशीमा वृद्धि गरिने जनाएको छ । ‘केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ,’ म्याराथनका संस्थापक अध्यक्ष ठकुरीले भनेका छन् ।
नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यता प्राप्त दौड प्रतियोगिता हो । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । ‘एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ,’ ठकुरी भन्छन् ।
एक दशकको यात्रा मनाउने क्रममा दश विभिन्न कार्यक्रम आयोजना गरिरहेको क्रियटिभ ह्याण्डसले पछिल्ला दुई दिन नेपालगन्ज कन्क्लेभ मार्फत विभिन्न आठ विधामा बहसमूलक छलफलको आयोजना गरेको छ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस बर्ष भने ढिलोगरी आयोजना भएको हो । ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगितासँग नजुधाउने गरी आयोजना सारिएको’ जनाएको आयोजकले राष्ट्रिय खेलकुद रोकिएपनि म्याराथन भने पूर्व निर्धारित तालिकामै आयोजना गरेको हो ।
यस वर्ष प्रतियोगितामा पुरुष तर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१किमी), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ बर्ष उमेर समूह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको आयोजकले जनाएको छ । आयोजक अध्यक्ष ठकुरीले दिएको जानकारी अनुसार, स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलगअलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमाकक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलगअलग दौड (५किमी) सञ्चालन गरिने आयोजकले भनेको छ ।
आयोजकले दिएको जानकारी अनुसार, नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुन्छ । यसवर्ष पनि नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक ब्राण्ड केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ ।
नवौं धारा नेपालगन्ज म्याराथन विजेता गोपीचन्द्र पार्की थिए । महिला हाफम्याराथनतर्फ सातौं, आठौं र नवौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन् । पार्कीले विश्व प्रतिष्ठित लण्डन म्याराथन तथा सन्तोषीले पेरिस ओलम्पिकमा सहभागिता जनाउन सफल भएका छन् ।
हरेक दुई बर्षमा आयोजना हुने एम्सको २३ औं बार्षिक साधारणसभामा नेपालबाट पहिलो पटक नेपालगन्ज म्याराथनले प्रतिनिधित्व गरेको थियो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्ला निवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौंमा सेनाका भिमबहादुर साउदले उपाधि उचालेका हुन् ।
त्यस्तै, नेपालगन्ज म्याराथनको छैठौं संस्करणमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी, आठौंमा सेनाकै खडकबहादुर खड्का र नवौंमा एपीएफकै गोपीचन्द्र पार्की विजेता बनेका थिए ।
महिला हाफ म्याराथनतर्फ सातौं, आठौं र नवौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन । त्यसैगरी पहिलो संस्करणमा एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए ।
दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु रतीन संस्करण जित्ने सन्तोषी श्रेष्ठ हुन् । पुरुषतर्फ दुई पटक म्याराथनतर्फ विजेता हुने एपीएफका गोपीचन्द्र पार्की मात्र हुन् ।