लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले आफु मातहतमा रहेका सबै गाडीहरूमा ‘विद्युतीय निगरानी (डिजिटल सर्भिलेन्स)’ गर्ने भएको छ । मन्त्रालयका सचिव डा. बासुदेव उपाध्यायले सोमबार अबदेखि सम्पूर्ण चार पाङ्ग्रे सरकारी गाडीहरूमा जिपिएस जडान गरी निगरानी गरिने जानकारी दिएका हुन् ।
सचिव डा. उपाध्यायले मातहतका कार्यालयहरूलाई सोमबार लिखित निर्देशन दिंदै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको आर्थिक बर्ष २०८०÷०८१को प्रादेशिक समीक्षा कार्यक्रममा जारी घोषणा पत्र अनुसार स्वास्थ्य मन्त्रालय अन्तर्गतका सरकारी सवारी साधनको विद्युतीय निगरानी व्यवस्था मिलाउने उल्लेख भएकाले त्यो घोषणा पत्र कार्यान्वयन गर्न भनेका छन् । मन्त्रालयले स्वास्थ्य निर्देशनालय, प्रादेशिक आपूर्ति व्यवस्था केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालिम केन्द्र मन्त्रालय अन्तर्गतका १४ वटा अस्पताल, १२ स्वास्थ्य कार्यालयहरू, प्रादेशिक आयुर्वेद चिकित्सालय र लुम्बिनी प्रदेश आयुर्वेद चिकित्सालयका गाडीमा अनिवार्य जिपिएस जडान गर्न निर्देशिन गरेको
हो ।
प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारुले लुम्बिनी प्रदेश सरकारको प्राथमिकता सुशासन, भ्रष्टाचार न्यूनीकरण र नागरिक प्रतिको जवाफदेहिता भएकाले वर्तमान सरकारको प्राथमिकता अनुसार स्वास्थ्य मन्त्रालयले नीति बनाएर नै अघि बढेको बताए ।
लुम्बिनीका करिब ४० वटा कार्यालयले मन्त्रालयको निर्देशन बमोजिम आफ्ना सवारीसाधनमा विद्युतीय निगरानीका लागि जिपिएस जडान गर्नुपर्नेछ । ‘आफ्नो कार्यालयमा रहेका चार पाङ्ग्रे सवारीसाधनमा विद्युतीय निगरानीका लागि आवश्यक जिपीएस जडान गरी सोको जानकारी यथाशक्य छिटो मन्त्रालयलाई पठाउनु’, स्वास्थ्य सचिव डा. उपाध्यायले कार्यालयहरूलाई निर्देशित गर्दै भनेका छन् ।