मःम फेस्टिवलको दोस्रो संस्करण तयारी, समुदायलाई पाककलाको उत्प्रेरणा
सन्ध्या गैरे
नेपालीको स्वादमा मौलिकता भर्ने अभियान जस्तै लाग्छ, सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी अन्तरगत, नेपालगन्जमा सञ्चालित सिद्धार्थ कटेजले आयोजना गर्ने मःम फेष्टिबल । यो वर्ष पौष २५–२७ गते नेपालगन्जमा मःम फेष्टिबल गरिंदैछ ।
मंगलवार सिद्धार्थ कटेजले मःम फेस्टिवलको दोस्रो संस्करणको घोषणा गरिरहँदा पनि त्यही सन्देश दिए, होटल सिद्धार्थका महाप्रवन्धक बद्री कोइरालाले । ‘नेपालीको मौलिक मेन्यूलाई कल्चरका रुपमा डेभलप गर्न खोजिएको हो,’ कोइरालाले पत्रकारको जिज्ञासामा भने ।
सिद्धार्थ कटेजले पुसको २५ देखि २७ गते सम्म मःम फेस्टिवलको दोस्रो संस्करण आयोजना गर्ने भएको हो । जहाँ प्रत्येक दिन कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुति त दिनेछन्नै नेपालीको भान्सामा सायदै बन्ने तर, रेष्टुरेन्ट पुगेपछि उच्च प्राथमिकतामा पर्ने मःमका ४० बढी भेराइटी पस्किइनेछन् । ‘त्यसमा पनि हामीले रैथाने स्वादलाई बढावा दिइनेछ,’ पाक महर्षीको उपाधी पाएका सिद्धार्थका फुड क्यूरेटर सन्दीप खत्रीले भने ।
सिद्धार्थ कटेजका अपरेशन म्यानेजर पदम न्यौपानेका अनुसार, फेस्टिवलको पहिलो दिन स्थानीय कलाकारलाई प्राथमिकता दिदैं मोहिनी पौडेल सहितको टिमले नृत्य प्रस्तुत गर्नेछ । फेस्टिवलको दोस्रो दिन नेपालगन्जकै स्थानीय कलाकारहरुको द समय ब्याण्डले आफ्नो कला पस्किनेछ ।
‘सबैभन्दा महत्वपूर्ण कुरा समुदायलाई पाककलाको उत्प्रेरणा यस फेस्टिवलको आकर्षण हो,’ पत्रकार समीरमान श्रेष्ठले पत्रकार भेटघाटको सहजीकरण गरिरहँदा भने । सिद्धार्थले अघिल्लो वर्ष मःम फेस्टिवलको पहिलो संस्करणमा ४० बढी स्थानीय महिलालाई पाककलामा उत्प्रेरित गर्दै आयोजना गरिएको मःम बनाउने प्रतियोगिता सहभागी गराएको सथयो । ‘निःशुल्क रुपमा सहभागिता जनाउन सकिने मःम फेस्टिवलको अन्तिम दिन चर्चित गायक पशुपति शर्मासँगै स्थानीय कलाकारहरुको लाइभ दोहोरी, नृत्य र कम्युनिटी कुकिङ प्रतिस्पर्धा हुनेछ,’ आयोजकले पत्रकार सम्मेलननै गरेर दिएको जानकारीमा उल्लेख छ ।
सिद्धार्थ कटेजले मःम संस्कृतिको विकास गर्ने उद्देश्यले गत वर्ष देखि नेपालगन्जमा फेस्टिवलको आयोजना गर्दै आएको बताएको छ । ‘स्थानीय मौलिक स्वादलाई संरक्षण गर्नको लागि गरिएको मःम फेस्टिवलको पहिलो संस्करणबाट हामी उत्साहित भएरै दोस्रो संस्करणमा जुटेका हौं,’ सिद्धार्थ कटेजका अपरेशन म्यानेजर न्यौपानेले भने । ।
पत्रकारहरुसँग नेपालीका स्वाद र भान्साबाट हराउँदै गएको मौलिक खानाबारे फुड क्यूरेटर खत्रीले निकै महत्वपूर्ण धारणासहितको जानकारी राखेका थिए । उनले मःम फेस्टिवलमा कोदो, फापर, जौजस्ता नेपाली मौलिकताका मःम बनाइने जानकारी पनि दिए ।