नेपालगन्जकी स्वास्थ्य निरीक्षक सर्मिला सुवेदी ‘इन्टेग्रिटी आइकन’छनोट भएकी छन् । आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जमा सार्वजनिक स्वास्थ्य निरीक्षकका रूपमा कार्यरत सुवेदी एकाउन्टविलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणमा छनोट भएकी हुन् ।
एकाउन्टविलिटी ल्याब नेपालले प्रेस विज्ञप्तिमार्फत पाँच जना इन्टेग्रिटी आइकनको नाम सार्वजनिक गरेको छ । विज्ञप्तिमा दिइएको जानकारी अनुसार, यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट ३४९ वटा मनोनयन प्राप्त भएका थिए । ‘प्राप्त मनोनयनहरूबाट विभिन्न छनोट प्रक्रिया पूरा गरेर निर्णायक समितिले यस वर्षका लागि पाँच जना इन्टेग्रिटी आइकन छनोट गरेका हुन्,’ पहिलो नम्बरमैं सुवेदीको नाम उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ।
सुवेदीसँगै धादिङ बेनिघाटका शिक्षा अधिकृत बोधराज पाठक, चितवन राष्ट्रिय निकुञ्जका शाखा अधिकृत मनपुरण चौधरी, जिल्ला स्वास्थ्य कार्यालय, पर्साकी अधिकृत मीरा कुमारी यादव र पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया इन्टेग्रिटी आइकन २०२४ छनोट भएका हुन् । छनोट भएका पाँचै जनालाई यहीँ आउँदो माघ ८ गते मंगलबारका दिन एक समारोह आयोजना गरी सम्मान गरिने आयोजकले जनाएको छ ।
हाल आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जमा सार्वजनिक स्वास्थ्य निरीक्षकका रूपमा कार्यरत सुवेदीले २०६६ सालमा सरकारी सेवामा प्रवेश गरेकी हुन् । बर्दिया जिल्ला अस्पताल, गुलरियाबाट सेवा सुरु गरेकी उनले जयसपुर स्वास्थ्य केन्द्र र परसपुर स्वास्थ्य केन्द्र नेपालगन्ज र मण्डनदेउपुर, काभ्रेपलाञ्चोकमा पनि काम गरेकी छिन् । विशेषगरी, स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन र स्वास्थ्य सेवाप्रति अनभिज्ञ सेवाग्राहीलाई विश्वास दिलाउन उनको ठूलो योगदान छ ।
सुवेदीबारे एकाउन्टविलिटी ल्याब नेपालले भनेको छ, घरदैलोमै पुगेर मुस्लिम समुदायका महिलाहरूलाई स्वास्थ्य संस्थामा आउने वातावरण बनाउने होस्, धामी–झाँक्रीको विश्वासमा रहेको समुदायलाई स्वास्थ्य सेवाको महत्त्व बुझाउने होस्, वा समुदायको पहुँचभन्दा टाढा रहेको स्वास्थ्य संस्थाको भवन सबैको पहुँचमा हुने गरी सार्न पहल गर्ने होस् – उनले यी सबै कार्यहरूमा अग्रणी भूमिका निर्वाह गरेकी छिन् ।
‘स्वास्थ्य सेवा बाहेक अन्य समस्याहरूमा पनि उनी समुदायका दिदीबहिनीहरूको भरोसा बनेकी छिन्,’ सुवेदीको काम र व्यवहारले सेवाग्राहीहरूलाई उनिप्रति मात्र होइन, स्वास्थ्य केन्द्रप्रति पनि विश्वास दिलाएको भन्दै एकाउन्टविलिटी ल्याब नेपालले भनेको छ, ‘यस कारण, पहिले स्वास्थ्य केन्द्रप्रति विश्वास नभएका सेवाग्राहीहरू अहिले कुनै समस्या पर्दा सबैभन्दा पहिले स्वास्थ्य केन्द्रमै आउने र अत्यावश्यक परे मात्र अन्यत्र जाने गरेका छन् ।’
छनोटका लागि निर्णायक समितिमा सुशासनविद् सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, नेपाल सरकारका भूतपूर्व सचिव द्वय पुण्य प्रसाद न्यौपाने र जीवनप्रभा लामा, प्राध्यापक तथा सुशासनविद् डा. सुचेता प्याकुरेल, र इन्टेग्रिटी आइकन २०१५ प्रदीपराज कणेल थिए । निर्णायक समितिले गर्ने छनौट प्रक्रियालाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि तथ्य संकलन, व्यवस्थापन र विश्लेषण गर्न निर्णायक उप–समिति र एकाउन्टविलिटी ल्याबको सचिवालयले पुरा एकवर्ष लगाएर काम गरेको जनाएको छ ।