(एम्स)का अध्यक्ष पाको बोराओ नेपालगन्ज आउने भएका छन् । उनको नेपालगन्ज आगमनलाई भव्य स्वागत गरिने तयारी गरिएको छ ।
म्याराथन तथा रोडरेसको विश्वव्यापी सञ्जाल एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)का अध्यक्ष पाको
बोराओले नेपालगन्ज भ्रमण तालिका तय गरेका हुन् ।
विश्वप्रसिद्ध भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर स्पेन निवासी पाको नेपालगन्ज आउने कुराले खेल सम्बद्धहरू खुशी भएका छन् । एम्समा एक सय बीस देशका चार सय पचास बढी म्याराथन आबद्ध छन् ।
नेपालका लागि एम्स दूत एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले एम्सको बोर्ड बैठक र नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्सका क्रममा यही जेठ १९ गते काठमाडौं उत्रन लागेका अध्यक्ष पाकोले नेपालगन्ज भ्रमण गर्ने तालिका सुनिश्चित भएको बताए ।
नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पहिलो पुर्णकालीन सदस्य हो ।
शनिवार गरिएको एक छलफलमा पाको नेपालगन्ज आउने कुरालाई अवसरका रूपमा लिनेबारे चर्चा गरिएको छ । पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जमा दस बर्षदेखि नियमित आयोजना हुँदै आएको म्याराथनको रुट हेर्ने र स्थानीय अगुवासँग पाकोले अन्तरक्रिया गराउने तयारी गरिएको छ । यसका लागि निवर्तमान उपमेयर उमा थापालाई संयोजक र प्याब्सन जिल्ला अध्यक्ष विकास बज्राचार्यलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।
अध्यक्ष पाकोको भ्रमण फलदायी गराउने सवालमा शनिबार नेपालगन्जमा नागरिक स्तरबाट छलफल चलाइएको हो । नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले बाँके राष्ट्रिय निकुञ्ज भ्रमणदेखि मानसरोवर माउन्टेन फ्लाईट गराउने र स्थानीय कला संस्कृति देखाउन नाट्टाले सघाउने प्रतिबद्धता जनाए ।
संसारमा निकै लोकप्रिय मानिएको म्याराथन विधाको सर्वाेच्च निकायको प्रमुख नेपालगन्ज आउनु खुशीको खबर रहेको लुम्बिनी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्यसचिव भिम ओलीले बताए ।
प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले विद्यार्थीका लागि हाइप्रोफाइल व्यक्तित्वसँग अन्तरक्रिया गराउन ठूलो अवसर भएको बताउँदै नेपालगन्ज म्याराथनको अभियानमा साथसाथै अघि बढिरहने वाचा गरे ।
सुटिङका पुर्व अन्तर्राष्ट्रिय खेलाडी एवं प्रेस युनियनका पुर्व अध्यक्ष नरेन्द्र थापाले खेलाडीको सहरलाई एम्ससँग जोड्न पाउनु गौरवको बिषय भएको बताए । नेपालगन्जका उद्योगी सञ्जय अग्रवालले खेलकुदसँग उद्योगी व्यवसायीलाई जोड्दै जानुपर्नेमा जोड गरेका थिए ।