नेपालमा आँप पाक्न नपाउदै भारतीय बजारबाट ल्याइएका आँप छयाप्पछयाप्ती नेपालगन्ज बजारमा पाउन थालिएको छ ।
भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारको स्थानीय गणेशमान चोक, त्रिभुनचोक, न्यू रोड, पुष्पलाल चोक, बसपार्क लगायतका स्थानमा व्यवसायीले बिक्री, वितरण गरिरहेका छन् । व्यवसायीले सो आँप माल्दा र दशहरी जातको भएको उल्लेख गर्दै मिठो भएको दावी गरेका छन् ।
नेपालगन्जकी स्थानीय अनारकली पासीले आँप खरिद गरेर खाएको तर सिजनको आँप जस्तो स्वाद नभएको बताए । ‘आँपको सिजनमा आउने आँप जस्तो मिठो आँप छैन’, उनले भने ।
नेपालमा अहिले काचो आप मात्रै बजारमा आएको छ । असारको पहिलो साताबाट नेपालमा आँप पाक्न सुरु हुन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले केही फलफूल र तरकारीको गुणस्तर तोकिएको उल्लेख गर्दै यस्तो आँपलाई निगरानीमा राखिएको बताएका छन् । उनले अर्को साताबाट आँपको पनि बजार अनुगमन हुने जानकारी दिदै त्यो बाहेक पहेला फलफुल, मेवा , केराको समेत गुणस्तर जाँच गरिने बताए ।
उपभोक्ता अधिकारकर्मी प्रभातसिंह ठकुरीले जनताको खाद्य अधिकारमाथि खेलवाड भएको उल्लेख गर्दै सम्वन्धित निकायको ध्यान जान आवश्यक भएको बताए । ‘बर्षेनी हामीले भनिरहेका हुन्छौ तर प्रभावकारी रूपमा कदम चालिएको हुदैन,’ उनले भने । फलफुलमा आँप, लिची, केरा लगायतका खाद्य वस्तुको जाँच आवश्यक भएको उनको भनाइ छ ।
भेरी अस्पताल, नेपालगन्जका फिजिसियन डा. संकेत रिसालले विषादी प्रयोग भएको फलफुलले झाडा वान्ता हुन सक्ने र त्यसले दीर्घकालिन रूपमा असर पु¥याउने बताए ।