निर्देशक सुवेदी र पत्रकार गिरीलाई सम्मान
चलचित्र पत्रकार संघ नेपाल बाँकेले २६ औँ बार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसर पारेर नृत्य निर्देशक नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरेको छ ।
मोफसलमा रहेर कला कर्म र पत्रकारिता गरिरहेका उनीहरुलाई आइतवार आयोजित कार्यक्रममा हौसलाका लागि नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
नृत्य निर्देशक सुवेदीलाई तीन हजार एकसय र पत्रकार गिरीलाई दुइ हजार एकसय नगद रुपैयाँ र प्रमाण पत्र सहित सम्मान गरिएको चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए । हो । मोफसलमा रहेर कलाकार सुवेदीले दर्जनौं म्युजिक भिडियो र लघु चलचित्र निर्देशन गरेका छन् । यस्तै चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्ने गरिएको अध्यक्ष पौडेलले बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्ररिषि चौलागाईले चलचित्रप्रतिको आफ्नो लगाव रहेको बताउदैं चलचित्र हेर्नका लागि गरेको विगतको संघर्ष स्मरण गरे। सिनेकर्मी, पत्रकार, सिनेमा हल र दर्शक एकअर्काको परिपुरक भएको बताउँदै चलचित्र पत्रकार संघले यी निकायविच समन्वय बढाउन भुमिका खेलिरहेको पनि उनले बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिले अहिले नेपाली चलचित्रहरुले राम्रो व्यापार गरिरहेको बताउदैं नेपालगन्जमा सुविधा सम्पन्न फिल्म हल निर्माण हुनु पनि गौरवको विषय भएको बताए । केन्द्रबाट दर्शक भेट्न नेपालगन्ज आएका कलाकारलाई पत्रकारसँग साक्षात्कार गराउने कामलाई निरन्तरता दिन संघलाई उनले सुझाव दिए। पत्रकार निरज गौतम, संगितकर्मी तथा चलचित्र पत्रकार संघ नेपाल बाँकेका सल्लाहकार सुन्दर गुरुङले विधागत पत्रकारिता गर्न, चलचित्र पत्रकारिता सम्बन्धी सिप अभिवृद्धि गर्न सुझाव दिएका छन्। आएका सुझावहरुलाई आगामी दिनमा कार्यान्वयन गर्दै लैजाने संघका अध्यक्ष रामचन्द्र पौडेलले बताए। कार्यक्रममा स्वागत कार्यवहाक सचिव लक्ष्मी तिमिल्सिनाले गरेकी थिइन् ।