वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै भारतीय सुरक्षा निकायले नेपालसँग जोडिएको बहराइचका क्षेत्राधिकारभित्र सीमामा दिनहुँ संयुक्त गस्तीलाई निरन्तरता दिएको छ ।
खासगरि, भारत–पाकिस्तानको पछिल्लो युद्धपछि नेपाली सीमाको प्रयोग गरेर हुनसक्ने सम्भावित जोखिमविरुद्ध भारतीय सुरक्षा ‘हाइ अलर्ट’ जारी गरिएको त्यहाँका सुरक्षा अधिकारीहरूले बताउँदै आएका छन् । त्यसका लागि नेपाली सुरक्षा अधिकारीहरूसँग पनि उनीहरू नियमित सम्पर्कमा रहेको र सहयोग समन्वय खोजिरहेको बताउँछन् ।
त्यसक्रममा विहीवारमात्रै बहराइचका अतिरिक्त प्रहरी उपरीक्षक (ग्रामीण) दुर्गा प्रसाद तिवारीले बाँकेसँग जोडिएका भारत–नेपालको सुरक्षा जाँच गर्न रूपैडिहा सीमा क्षेत्रको भ्रमण गरेका छन् । भारतीय सीमावर्ती बजार रूपैडिहाबाट पत्रकार सन्तोष शुक्लले दैनिक नेपालगन्जलाई दिएको जानकारी अनुसार, रूपैडिहा प्रहरीले हरेक दिन सीमा सुरक्षा बलसँग संयुक्त गस्ती गरिरहेको छ ।
रूपैडिहा प्रहरी चौकी इन्चार्ज दद्दन सिंहले ‘भारत नेपाल सीमामा सरकारको तर्फबाट हाइ अलर्ट जारी गरिएको’ बताएका छन् ।
यस सन्दर्भमा बिहीबार, अतिरिक्त प्रहरी अधिक्षक तिवारीको कमाण्डमा क्षेत्राधिकार नानपारा प्रद्युमन सिंह र एसएसबी ४२ बटालियन रूपैडिहा चेकपोस्टका सहायक कमान्डेन्ट सुनील कुमार शान्तिसँगै रूपैडिहा प्रहरीको टोलीले सीमा क्षेत्रमा संयुक्त गस्ती गर्दै सुरक्षा निरीक्षण गरेको थियो ।
‘एसएसबी र प्रहरी टोलीले सीमामा अवस्थित जंगल मुन्सी पूर्वा चेकपोस्टमा गएर गहन खोजी कार्य गरेको र सीमावर्ती जनतालाई सुरक्षाको अनुभूति गराएको’ प्रहरी अधिकारीलाई उदधृत गर्दै पत्रकार शुक्लले भने, ‘अतिरिक्त प्रहरी उपरीक्षक (ग्रामीण) को भ्रमणको उद्देश्य सीमा सुरक्षा सुनिश्चित गर्नु थियो र यो सीमा क्षेत्रमा कानून व्यवस्था कायम राख्न र सीमा क्षेत्रका जनतालाई सचेत गराउनको लागि थियो ।’
नेपालबाट भारत जानेले गर्नसक्ने गैरकानूनी गतिविधि र कुनै पनि अवांछित व्यक्तिलाई रोक्न एसएसबी ४२ सी बटालियनको रूपैडिहा चेकपोस्टमा तैनाथ सहायक कमान्डेन्ट सुनिल कुमार शान्तिसँगै एसएसबी टोली पनि निरन्तर गस्तीमा रहने गरेको प्रहरीको भनाइ छ ।