नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्तरगत ब्वाईज सिङल ग्–१५ तर्फ आर्यन राना तथा मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडी प्रथम भएका छन् ।
शनिवार सम्पन्न फाईनलमा ग्–१५ तर्फ आर्यनले संस्कार केसीलाई २१–१६, १६–२१ र २१–१६ ले पराजित गर्दै च्याम्पियन भए । केसीले दोस्रो स्थान मै चित्त बुझाए । अभय राजबंशी र सुयोग्य श्रेष्ठ तृतीय भए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद सहित पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गरे। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आर्यन राना उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै आर्यन बुढा उदयमान खेलाडी बाट पुरस्कृत भए ।
त्यसैगरी मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडीले अर्जुन बुढामगर र बिरेन्द्र श्रीषको जोडीलाई २१–१९, १७–२१ र २१–१९ ले पराजित गर्दै प्रथम हुन सफल भए । श्रीष र बुढामगर दोस्रो स्थानमा रहे भने दिपक शाही र दिपक बनको जोडी तथा राजेश साउद र चन्द्र कलेलको जोडी तृतीय भए । बिजयी खेलाडीहरूलाई प्रमुख अतिथी एवम नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्ख बहादुर थापा, समाजका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दीकी, मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समितिका प्रमुख महेश चन्द, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षद्वय निरज गौतम, झलक गैरे लगायतले पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पूर्व खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालामास्थित कबर्ड हलमा आयोजित प्रतियोगितामा ब्वाईज अण्डर–१५ ईभेन्टतर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ वटा टीमको सहभागिता रहेको थियो ।
श्रेष्ठलाई सम्मान
बाँके जिल्लालाई राष्ट्रिय प्रतियोगितामा पहिलो पदक दिलाउने डा. सुरज प्रसाद श्रेष्ठलाई नेपालगन्जमा भव्य सम्मान गरिएको छ । पूर्व खेलाडी समाजले आयोजना गरेको औपचारिक कार्यक्रम बीच दोसल्ला, टोपी र कदरपत्रले पूर्व खेलाडी डा. श्रेष्ठलाई सम्मानित गरिएको हो ।
डा. श्रेष्ठले बि.स. २०२३ जनकपुरमा सम्पन्न राष्ट्रिय प्रतियोगिताको हाईजम्प ईभेन्टमा बाँके जिल्लालाई कांस्य पदक दिलाएका थिए । पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष निजामुद्दिन सिद्दिकी, कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापा, वडाध्यक्ष मनोज कुमार श्रेष्ठ, कार्यपालिका सदस्य बसन्त कनोजिया लगायतले डा. श्रेष्ठलाई सम्मान गरेका थिए । उनी २०२२ सालमा जनकपुरमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भेरीको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए । पदकविहीन उनी अर्को बर्ष २०२३ चैत्रमा जनकपुरमा भएको अल नेपाल एथलेक्टिस प्रतियोगितामा हाइजम्पमा काँस्य पदक हासिल गरे । ‘जुन पदक बाँकेका लागि इतिहासमै पहिलो थियो’, नरेन्द्र थापाले भने ।
त्यस अवसरमा डा. श्रेष्ठले खेलकुदको तत्कालीन अनुभवहरू प्रस्तुत गर्दै ‘इतिहासको सही दस्तावेजीकरण गर्न’ सुझाए । डा. श्रेष्ठले खेलकुदको इतिहास स्मरण गर्दै घरबारीटोल परिसरबाट खेल गतिविधि सुरु भएको संस्थागत पहलकदमीबारे जानकारी दिए ।