डा. गोबिन्द आचार्यद्वारा लिखित महाकाव्य ‘दङ्गी उर्वशी’ माथि शनिवार नेपालगन्जमा विशेष साहित्यिक विमर्श कार्यक्रम गरिएको छ ।
शाश्वत आचार्य स्मृति प्रतिष्ठान, नेपालगन्जले शनिवार नेपालगन्ज उपमहानगरपालिकाको सभाहलमा विमर्श कार्यक्रम गरेको हो ।
प्रतिष्ठानका उपाध्यक्ष किरण पौडेल (आचार्य)को सभापतित्वमा करिब साढे तीन घण्टा चलेको विमर्शमा महाकाव्यमाथि चरित्रा शाह, डा. राजकुमार थारु र पत्रकार विश्वराज पछ्लडंग्याले आ–आफ्ना कोणबाट समीक्षा प्रस्तुत गरेका थिए ।
त्यस्तै, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणी देवकोटाले महाकाव्यका अन्तरकुन्तरलाई गहिराइपूर्वक प्रस्तुत गर्दै केही पंक्तिहरू गुनगुनाएर श्रोतालाई मन्त्रमुग्ध बनाए । अर्का वक्ता डा. हरिप्रसाद तिमिल्सिनाले महाकाव्य ‘दङ्गी उर्वशी’ को साहित्यिक महत्वमाथि प्रकाश पार्दै सर्जकलाई शुभकामना व्यक्त गरे ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य एवं कानूनविद् नरहरिनाथ योगीले सञ्चालन गरेका थिए भने प्रतिष्ठानधका प्रतिष्ठानका अध्यक्ष प्रा. डा.जनार्दन आचार्यले स्वागत मन्तव्य दिएका थिए ।
साहित्यकार, शोधकर्तादेखि नेपालगन्ज र दाङबाट आएका प्रतिष्ठित साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा महाकाव्यका लेखक डा. गोबिन्द आचार्य स्वयंले आफ्नो कृतिसम्बन्धी प्रश्नहरूको उत्तर दिएका थिए ।






























