मधेशी आयोगका सदस्य विजयकुमार गुप्ताले पदबाट राजिनामा दिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमार्फत आइतबार गुप्ताले आफ्नो राजिनामा पत्र पेस गरेका हुन् ।
आयुक्त गुप्ताले हाल मुलुकले सामना गरिरहेको गम्भीर आर्थिक चुनौती र राज्यका निकायले निर्वाह गर्नुपर्ने जिम्मेवारीलाई प्रभावकारी ढंगले पूरा गर्नुपर्ने आवश्यकता औंल्याउँदै पद त्याग्ने निर्णय लिएको बताएका छन् । उनका अनुसार, बढ्दो आर्थिक बोझ, राज्यको संरचनामा आएको कमी–कमजोरी र आम जनताको दैनिक जीवनमा परेको दवावलाई सम्बोधन गर्ने तत्कालीन चुनौती महत्त्वपूर्ण भएकाले आफूले व्यक्तिगत रूपमा जिम्मेवारी वहन गर्न नसक्ने ठहर गरेका हुन् ।
आयोगमा रहेर मधेशी समुदायको हकहित र अधिकारका सवालमा काम गर्न पाएको अवसर महत्वपूर्ण भएको उल्लेख गर्दै आयुक्त गुप्ताले निरन्तर उपस्थितिको आवश्यकता, आर्थिक बोझसमेतको जिम्मेवारी र उत्तरदायित्वलाई आत्मसात गर्दै स्वेच्छाले पद त्याग गरेको स्पष्ट पारेका छन् ।
नेपालको संविधान र मधेशी आयोग ऐन, २०७४ को दफा ४ को खण्ड (क) बमोजिम उनले आइतबारैदेखि लागू हुनेगरी आफ्नो राजिनामा पेश गरेको उल्लेख गरिएको छ । आयुक्त गुप्ताले राजिनामा पत्रमा लेखेका छन्, ‘मेरो राजिनामा स्वीकार गरीदिनु हुन हार्दिक अनुरोध गर्दछु ।’ २१ माघ २०७७ मा आयुक्त नियुक्त भएका नेपालगन्जका समाजसेवी गुप्ता २० माघ २०८३ सम्मका लागि आयुक्त भएका हुन् ।