महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्यूनीकरण तथा हिंसामा परेकाहरूको पुनस्र्थापना लगायतका विभिन्न खालका सहायताका बाँकेको खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले कार्यविधि निर्माण गरेका छन् । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज (आइएचआरसी) र महिला, कानुन र विकास मञ्चको प्राविधिक सहयोगमा दुई वटा पालिकाले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा सम्बन्धी प्रेषण प्रणाली कार्यविधि २०८२ आइतबार औपचारिक कार्यक्रम बीच सार्वजनिक गरेका हुन् ।
आइएचआरसीले बर्दियाको एउटा र बाँकेका तीन स्थानीय तहमा यसखालको कार्यविधि बनाउनका लागि प्राविधिक सहयोग र समन्वय गरेको संस्थाका कार्यकार्य निर्देशक राकेश मिश्रले जानकारी दिएका छन् । ‘नेपालगन्ज उपमहानगरपालिकामा यौनजन्य हिंसा निवारण सम्बन्धमा र बर्दियाको बढैयातालमा पुनस्र्थापना तथा सेवा कोषका लागि कार्यविधि बनाउन प्राविधिक सहयोग गरिएको हो’, निर्देशक मिश्रले भने ।
आइतबार जानकी गाउँपालिकामा आयोजित महिला तथा बालबालिका विरुद्ध हुने हिंसा सम्बन्धी प्रेषण प्रणाली कार्यविधि २०८२ सार्वजनिक कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्षता गरेका अधिवक्ता विश्वजित तिवारीले कार्यविधि निर्माण भएसँगै एउटा चरण सकिएको र अब त्यसको कार्यान्वयनको चरण सुरु हुनुपर्ने बताएका थिए । ‘कार्यविधि बनेको छ, अब पालिकाले त्यसलाई कार्यान्वयनको चरणमा अगाडि बढाउनु पर्छ ।’
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, जानकी गाउँपालिका महिला विकास शाखा प्रमुख कल्पना गाहामगरले कार्यविधि बनेकाले त्यसले काम गर्न तथा हिंसा सम्बन्धी तथ्यांक राख्न, हिंसामा परेकालाई आवश्यक सहयोग गर्न सहज हुने धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, महिला, कानुन र विकास मञ्चका सविन श्रेष्ठ लगायतले कानुन कार्यान्वयनमा स्थानीय तह अग्रसर हुने विश्वास व्यक्त गरेका थिए ।






























