प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि फागुन २१ गते विहिवार भएको मतदानको अन्तिम मतपरिणाम घोषणा भएको छ । शनिवार घोषणा भएको मत परिणामले स्पष्ट सन्देश दिएको छ, बाँकेमा समावेशी जनप्रतिनिधि निर्वाचत भएका छन् ।
मुक्त कमैया आन्दोलनबाट उदाएका सुरेशकुमार चौधरी, मधेश आन्दोलनको भट्टीबाट राष्ट्रिय राजनीतिमा छवि बनाउन सफल मो. इस्तियाक राई र दलित आन्दोलनको उभार सिर्जना गरेर राजनीतिमा जरो गाडेका खगेन्द्र सुनार बाँकेबाट संसदमा प्रतिनिधित्व गर्ने भएका हुन् ।
बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हुन् । अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार रहेका चौधरी रास्वपा प्रवेश गरि टिकट लिएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेललाई १७ हजार ४९१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राई यसपटक नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । जसपा नेता राई निर्वाचन अघि एमाले प्रवेश गरेर टिकट लिएका थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विवेक कुमार श्रेष्ठलाई पाँच हजार ९४६ मतले पराजित गरेर निर्वाचित भए । उनी तेस्रो पटक सांसदका रूपमा प्रतिनिधिसभा प्रवेश गरिरहँदा २४ हजार ६२८ मत प्राप्त गरेका
छन् ।
प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी सुनार दलित अभियन्ता हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सुनार टिकट लिनुअघिसम्म आफ्नै पार्टीबाट निर्वाचनमा जाने अभियानमा थिए । अन्तिममा पार्टीनै रास्वपामा समाहित गरेका उनी २९ हजार ५५१ मत प्राप्त गरेर बाँकेको राजनीतिमा दरिलो पाइला चालेका छन् । उनले नेकपा एमालेका युवा नेता सुमन मल्ललाई १९ हजार ६१५ मतमा सिमित पारेर संसद यात्रा रोक्न सफल भए ।






























