गोपाल नीना फाउन्डेशन नेपालद्वारा विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
सोमवार आयोजित एक कार्यक्रमका वीच बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुर स्थित जयन्दू बाल सुधार गृहका बालकहरुका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र गुरुङ र फाउन्डेसनका सहनिर्देशक डा. तृप्ती पाल रमणले बाल सुधार गृहका प्रमुख किशोर शर्मालाई खेलकुद सामग्री हस्तान्तरण गर्नु भएको हो ।
बाल सुधार गृहलाई हस्तान्तरण गरिएका खेल सामग्रीहरुमा भलिबल ४ थान, फुटबल ४ थान, भलिबल नेट १ थान, टेबुल टेनिस २ थान, क्रिकेट बल ब्याट सहित ६ थान, लुडो ३ थान, चेस ३ थान, स्किपिङ डोरी ५ थान, क्यारेम बोर्ड ३ थान, ब्याडमिन्टन २ सेट र तौल नाप्ने मेसीन १ थान रहेको छ ।
सो अवसरमा प्रमुख अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र गुरुङले राज्यले बाल सुधार गृहको व्यवस्था गरे तापनि कानुनी विवादमा परेका बालकहरूको आवश्यकतालाई ध्यानमा राखेर ती बालकहरुका लागि खेलकुद सामग्रीहरु उपलब्ध गराएकोमा फाउन्डेसन परिवारलाई स्थानीय प्रशासनको तर्फबाट धन्यवाद दिनु भयो ।
सो अवसरमा इन्सेकका केन्द्रीय सदस्य अधिवक्ता विकास आचार्यले बालकहरुको आवश्यकतालाई महसुस गरेर खेलकुद सामग्री सहयोग गर्ने फाउन्डेसनको सराहना गर्नु भयो ।
वरिष्ठ पत्रकार तथा समाजसेवी पूर्ण लाल चुकेले फाउन्डेसनले स्थापना कालदेखि बिना बाह्य सहयोग शिक्षा, स्वास्थ्य, नियमित रक्तदान जस्ता मानवीय कार्यक्रमहरु आयोजना गर्दै आएको बताउँदै बाल सुधार गृहको माग र बालकहरुको रुचि अनुसारका खेल सामग्रीहरु उपलब्ध गराइएकोमा सराहना गर्नु भयो । सुधारका लागि राखिएको जयन्दू बाल सुधार गृहमा खाना र बस्नका लागि मात्र व्यवस्था गरिएको उल्लेख गर्दै उनीहरुको शिक्षा, स्वास्थ्य र मनोरञ्जनको पर्याप्त व्यवस्था नहुँदा कलिला बालकहरूको सर्वाङ्गीण विकासका लागि राज्यले ध्यान नदिएको हुँदा वर्तमान सरकारको यस तर्फ ध्यान दिनु पर्ने धारणा राख्नु भयो । विद्यालय सञ्चालन नहुँदा बालकहरू औपचारिक शिक्षाबाट वञ्चित भएका छन् ।
जयन्दू बाल सुधार गृहका कार्यालय प्रमुख किशोर शर्माको अध्यक्षता तथा इन्सेकका प्रदेश प्रमुख भोला महतद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा जग्गादाता दानवीर जयकेश सिंह, गोपाल नीना फाउन्डेशन नेपालका कार्यालय प्रमुख दिलीप सिंह, जनसम्पर्क अधिकृत विजयन्द्र जिसी, अनिल खनाल र बाल गृहमा आश्रित २०२ जना कानुनी विवादमा परेका बालकहरूको उपस्थिति रहेको थियो ।
उक्त बाल सुधार गृहमा कानुनी विवादमा परेका २०२ जना बालकहरू राखिएको छ । जयेन्दु बालसुधार गृहमा जबरर्जस्ती करणीको मुद्दा सम्बन्धी अभियोगमा बन्दी बनाइएका आधाभन्दा बढी बालक छन् भने अन्य बालक कर्तव्य ज्यान, लागु औषध र चोरी सम्बन्धी मुद्दाका रहेका छन् । उक्त गृहमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ वर्षदेखि १६ वर्ष मुनीका बालकहरु राखिएको कार्यालय प्रमुख शर्माले जानकारी दिनु भयो ।
बाल सुधार गृहका अधिकाँश बालकहरुमा छाला सम्बन्धि समस्या देखिएको एक बालकले बताए ।





























