दाङको लमही नगरपालिका–५ रातोडाँडामा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब ४ बजे प्राविधिक समस्या आएपछि सडक किनारमा रोकिएको ना ५ ख ९३३६ नम्बरको ट्रकमा पश्चिमतर्फ गइरहेको लु १२ प ९८४० नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरी गम्भीर घाइते भएका थिए । उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मोटरसाइकलमा सवार अन्दाजी ३२ वर्षीय धनिराम चौधरी घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






























