आचारसंहिता विपरीतका गतिविधिप्रति पत्रकार महासंघको आपत्ति
पत्रकारिताको नाममा क्यामेरा, बुम र परिचयपत्रको दुरुपयोग गर्दै गरिने गैरजिम्मेवार गतिविधिले समग्र पत्रकारिता पेशाकै विश्वसनीयतामाथि प्रश्न उठाएको भन्दै नेपाल पत्रकार महासंघ बाँके शाखाले त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।
शाखाको कार्यसमिति बैठकले पत्रकारिताको आवरणमा हुने अमर्यादित तथा आचारसंहिता विपरीतका अभ्यासलाई पत्रकारिता कर्मको दायराभित्र राख्न नसकिने स्पष्ट पारेको छ ।
शाखा अध्यक्ष नविन गिरिको अध्यक्षतामा बसेको बैठकपछि सचिव कृष्ण ओलीद्वारा जारी विज्ञप्तिमा सत्य, तथ्य, निष्पक्षता, व्यावसायिकता, जिम्मेवारी, जवाफदेहिता र उत्तरदायित्वलाई पत्रकारिताको आधार बनाएर काम गर्न सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गरिएको छ ।
विज्ञप्तिमा पछिल्लो समय ‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै र जुनसुकै अवस्थामा स्वतः पहुँच र प्रभाव स्थापित हुन्छ भन्ने गलत मानसिकताबाट प्रेरित गतिविधि बढ्दै गएकोप्रति महासंघले गम्भीर चिन्ता व्यक्त गरेको छ । यस्ता गतिविधिले पत्रकारिता पेशाको गरिमा, पेशागत आचारसंहिता, नैतिक मूल्य–मान्यता र आमजनताको विश्वासमा नकारात्मक असर पारिरहेको निष्कर्ष बैठकले निकालेको छ ।
महासंघले ‘पत्रकारिताको नाममा गरिने गैरजिम्मेवार, अमर्यादित तथा आचारसंहिता विपरीतका गतिविधि पत्रकारिता कर्मको परिभाषाभित्र पर्दैन’ भन्ने स्पष्ट अडान पनि सार्वजनिक गरेको छ। पत्रकारिताको साख जोगाउन प्रत्येक सञ्चारकर्मीले पेशागत मर्यादा र आचारसंहिताको पालना गर्नुपर्नेमा शाखाले जोड दिएको छ ।
बैठकले नेपाल पत्रकार महासंघ बाँकेको विसं २०८१ मंसिर २८ गते भएको निर्वाचनमा खुला उपाध्यक्ष पदका उम्मेदवार तिलक गाउँले र रेजिना मल्लले बराबर मत प्राप्त गरेपछि भएको सहमतिलाई कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । सहमतिअनुसार उपाध्यक्ष तिलक गाउँलेले आफ्नो आधा कार्यकाल पूरा गरेपछि बाँकी कार्यकालका लागि रेजिना मल्ललाई जिम्मेवारी हस्तान्तरण गरिएको हो ।
बैठकले शाखाले गत आर्थिक वर्षमा वार्षिक कार्ययोजनाअनुसार सञ्चालन गरेका कार्यक्रम र गतिविधिको समीक्षा गर्दै ती उपलब्धिमूलक तथा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ । आगामी आर्थिक वर्षमा पत्रकारको पेशागत क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण तथा सदस्य हितलाई केन्द्रमा राखेर अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको विज्ञप्तिमा उल्लेख छ ।




























