सम्माननीय अर्थमन्त्रीज्यू,
हजुरको योग्यता, विज्ञता, अनुभव, अर्थशास्त्र तथा कर प्रणालीसम्बन्धी ज्ञानमाथि प्रश्न उठाउने न मेरो क्षमता छ, न हैसियत, न त त्यस स्तरको दाबी नै। तर एउटा नागरिकका रूपमा केही कुरा राख्न चाहन्छु।
राजनीतिमा केवल विज्ञ हुनु मात्र पर्याप्त हुँदैन। त्यो विज्ञतालाई देशको माटो, समय, परिस्थिति, जनताको जीवनशैली र स्थानीय वास्तविकतासँग जोडेर कार्यान्वयन गर्न सक्नुपर्छ। पुस्तकमा पढिएका सिद्धान्त वा अन्य देशमा सफल भएका नीतिहरूलाई जस्ताको तस्तै नेपालमा लागू गर्दा सधैं अपेक्षित परिणाम प्राप्त हुँदैन। हरेक देशको आफ्नै सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक यथार्थ हुन्छ। नीति निर्माण गर्दा त्यही यथार्थलाई केन्द्रमा राख्नुपर्छ।
हालै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर जनताको व्यापक आवाजपछि सरकारले फिर्ता लियो। यो निर्णय सकारात्मक थियो। त्यसैगरी, विद्युत्मा लगाइएको करबारे पनि पुनर्विचार गरेर फिर्ता लिन आवश्यक छ।
विशेषगरी नेपालको तराई क्षेत्रमा गर्मीयाममा पंखा र कुलर चलाउनु विलासिता होइन, बाध्यता हो। एसीलाई विलासिताको वस्तु मान्न सकिएला, तर पंखा र कुलर सामान्य नागरिकको आधारभूत आवश्यकता हुन्। अत्यधिक गर्मीका बेला यी उपकरणबिना दैनिक जीवन सहज रूपमा सञ्चालन गर्न सम्भव हुँदैन। यो रहरको विषय होइन, जीवनयापनको आवश्यकता हो।
त्यसैले कर नीति बनाउँदा जनताको वास्तविक जीवन, भौगोलिक अवस्था, जलवायु र स्थानीय आवश्यकतालाई केन्द्रमा राखिनुपर्छ। नीतिहरू माटोसँग जोडिनुपर्छ। जनजीवनसँग मेल खानुपर्छ। अन्यथा, जतिसुकै उच्चस्तरको विज्ञताका आधारमा नीति बनाइए पनि त्यसले जनताको हितमा अपेक्षित परिणाम दिन सक्दैन।
राजनीतिमा विज्ञताको वास्तविक मूल्य त्यतिबेला स्थापित हुन्छ, जब त्यो देशको यथार्थ, जनताको आवश्यकता र माटोको संवेदनासँग जोडिएर व्यवहारमा उतारिन्छ। हजुरको विज्ञता नेपाली जनताको हित, देशको आवश्यकता र समृद्धिको यात्रामा उपयोगी हुनेछ भन्ने विश्वास र आशा व्यक्त गर्दछु।
धन्यवाद ।
एउटा नागरिककातर्फबाट
निरन्जन राजभण्डारी
नेपालगन्ज




























