निरन्जन राजभण्डारी
एउटा नयाँ ब्यारेक स्थापना भयो । एउटा काठको कुर्सी बनाइयो। त्यसमा ताजा रङ लगाइयो । रङ नसुक्दासम्म कसैले बसेर बिगार्न नपाओस् भनेर एउटा सिपाहीलाई त्यहीँ ड्युटीमा खटाइयो ।
केही घण्टापछि कुर्सीको रङ सुक्यो ।
तर, सिपाही खटनको आदेश आएन ।
दिन बिते । महिना बिते । वर्षहरू बिते । ब्यारेकका कमान्डर फेरिए । मेजर सरुवा भए । कुर्सी छेउ सिपाही बदलिँदै गए । नयाँ पुस्ता आयो । पुरानो पुस्ता अवकाश भयो । तर, त्यो कुर्सीको छेउमा सिपाही उभ्याउने परम्परा भने यथावत् रह्यो ।
कसैले सोधेन, किन ?
कुनै दिन एकजना पत्रकार त्यहाँ पुगे । उनले देखे, एउटा सामान्य कुर्सीको पहरा दिन एउटा सिपाही खटिएको छ ।
उनले सोधे, ‘यो कुर्सी छेउमा सिपाही किन राखिएको छ ?’
उत्तर आयो, ‘यो त पुरानै चलन हो ।’ ‘चलन किन भयो ?’
‘थाहा छैन । पहिलेदेखि यस्तै छ ।’
पत्रकारले खोज्दै जाँदा ब्यारेक स्थापना गर्ने पहिलो प्रमुखसम्म पुगे ।
उनले कुरा सुने । मुस्कुराए । अनि उल्टै प्रश्न गरे, ‘अझै पनि त्यो कुर्सीको रङ सुकेको छैन र ?’
पत्रकार छक्क परे ।
पहिलो प्रमुखले भने, ‘त्यो त रङ नसुक्दासम्म कोही नबसोस् भनेर मात्रै सिपाही राखिएको थियो ।’
रङ त पहिलो दिनमै सुकिसकेको थियो । तर, सोच भने कहिल्यै सुक्न पाएन । यही कथा आजको समाजको पनि कथा हो । हामीमध्ये कति जना यस्ता काम गरिरहेका छौँ, जसको कारण हामीलाई नै थाहा छैन । ‘सबैले गरिरहेका छन्’, ‘यही चलन हो’, ‘पहिलेदेखि यस्तै छ’ भन्ने उत्तरले हाम्रो सोचलाई बन्दी बनाइदिएको छ । प्रश्न गर्ने बानी हराउँदै गएको छ । कारण खोज्ने संस्कार कमजोर हुँदै गएको छ ।
आज सामाजिक सञ्जालले यो प्रवृत्तिलाई झन् तीव्र बनाइदिएको छ । कुनै एउटा गीत भाइरल हुन्छ । लाखौँ मानिस त्यसैमा भिडियो बनाउँछन् । कुनै एउटा संवाद चर्चित हुन्छ । त्यसैलाई दोहोर्याउने होड चल्छ ।
कुनै एउटा चुनौती सुरु हुन्छ । त्यसैको पछि सबै कुद्छन् । कुनै एउटा हल्ला फैलिन्छ । सत्य हो कि होइन भन्ने जाँच नगरी सेयर गरिन्छ । कुनै एउटा व्यक्तिमाथि भीड उत्रिन्छ । तथ्यभन्दा पहिले निर्णय सुनाइन्छ ।
हामी किन गरिरहेका छौँ भन्नेभन्दा पनि अरूले गरिरहेका छन् भन्ने कारण पर्याप्त बन्न थालेको छ ।
हिजो कुर्सीको रङ नसुकेको थियो । आज सोच नसुकेको छ ।
हिजो एउटा सिपाही अनावश्यक रूपमा ड्युटीमा उभिएको थियो ।
आज लाखौँ मानिस अनावश्यक रूपमा ट्रेन्डको पछाडि दौडिरहेका छन् ।
हिजो आदेशको समीक्षा भएन । आज सूचनाको समीक्षा हुँदैन ।
हिजो कसैले ‘किन ?’ सोधेन । आज पनि धेरैले सोध्दैनन् ।
भीडसँगै हिँड्नु सजिलो हुन्छ । सोचेर हिँड्नु गाह्रो हुन्छ । तर इतिहास सधैँ भीडले होइन, प्रश्न गर्ने मानिसहरूले बदल्छन् ।
समाज अगाडि बढ्ने भनेको सबै परम्परा भत्काएर होइन । परम्पराको उद्देश्य बुझेर हो । समयले काम सकिसकेका अभ्यासलाई परिवर्तन गरेर हो । सही परम्परा जोगाएर र निरर्थक अभ्यास त्यागेर हो ।
कहिलेकाहीँ एउटा सानो प्रश्नले दशकौँदेखि चलिरहेको गलत अभ्यास अन्त्य गर्न सक्छ । त्यो प्रश्न हो, ‘यो हामी किन गरिरहेका छौँ ?’
किनभने…
‘चलन’ भन्दा ठूलो कुरा ‘कारण’ हो । र, समाजलाई बदल्ने सबैभन्दा ठूलो शक्ति भीड होइन, सोच्ने साहस हो ।




























