यसैवर्ष राज्यलाई १७ लाखभन्दा बढी कर, सात परियोजनामा ५१ जनालाई रोजगारी
बाँके युनेस्को क्लबले पछिल्लो आर्थिक वर्षमा मात्रै राज्यलाई १७ लाखभन्दा बढी रुपैयाँ कर तिरेको छ । बाँके र बर्दियामा सञ्चालन भइरहेका सात वटा परियोजनामार्फत क्लबले ५१ जनाभन्दा बढीलाई रोजगारीसमेत दिएको छ । ३७ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय क्लबले आफ्ना गतिविधिलाई निरन्तर विस्तार गर्दै आएको अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताए ।
क्लबको ३७ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस आइतबार नेपालगन्जमा भव्य कार्यक्रम गरि आयोजना गरि मनाइएको छ । कार्यक्रममा क्लबको सामाजिक योगदानसँगै विभिन्न परियोजनामार्फत समुदायमा पु¥याउँदै आएको सेवाका विषयमा चर्चा गरिएको थियो । पछिल्लो समय स्थानीय तहसँगको समन्वय र सहकार्यमा क्लबले पारदर्शी ढंगले काम गर्दै आएको सहभागी स्थानीय तहका प्रतिनिधिहरूले बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी कृष्णजंग शाहले ३७ वर्षसम्म कुनै संस्था निरन्तर समाजमा सक्रिय रहनु आफैंमा महत्वपूर्ण उपलब्धि भएको बताए । ‘३७ वर्षसम्म संस्था जीवन्त भएर समाजमा प्रतिष्ठाका साथ सञ्चालन हुनु गौरवपूर्ण विषय हो,’ उनले भने । क्लबलाई यो अवस्थासम्म ल्याउन संस्थापकसमेत रहेका अध्यक्ष प्रवेज अलि सिद्दिकीको महत्वपूर्ण भूमिका रहेको शाहले बताए ।
स्थानीय तहका प्रतिनिधिहरूले पनि बाँके युनेस्को क्लबले समुदायमा काम गर्ने शैली प्रशंसनीय रहेको बताए । गेरुवा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत बसबहादुर राना, मधुवन नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायणप्रसाद खनाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख इन्द्रा चुनारा, पशु विकास शाखा प्रमुख गणेशबहादुर बोहोरा र बढैयाताल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश पौडेलले स्थानीय सरकारसँगको समन्वयमा क्लबले पारदर्शी ढंगले काम गरिरहेको बताए ।
क्लबले सामाजिक क्षेत्रमा पु¥याएको योगदानकै कारण लामो समयदेखि आफ्नो पहिचान बनाउन सफल भएको गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष मन भण्डारी र बास नेपालका अध्यक्ष शिवकुमार वर्माले बताए । उनीहरूले ३७ वर्षसम्म निरन्तर समाजसेवामा सक्रिय रहनु अन्य संघसंस्थाका लागि पनि उदाहरण भएको धारणा राखे ।
स्थापना दिवसकै अवसरमा क्लबले उत्कृष्ट काम गर्ने कर्मचारी तथा व्यवस्थापनतर्फका जिम्मेवार व्यक्तिलाई सम्मान गरेको थियो । वर्षका उत्कृष्ट कर्मचारीका रूपमा राधेकृष्ण थारु, सन्जिता रिजाल र दृष्टि शाह पुरस्कृत भए । व्यवस्थापनतर्फ कार्यकारी निर्देशक रवि तुलाधर तथा लेखा तथा वित्त प्रमुख बेदप्रकाश पंगेनी उत्कृष्ट घोषित हुँदै पुरस्कृत भए । टिम लिडरतर्फ गोविन्द लामिछानेलाई उत्कृष्ट घोषित गरिएको थियो ।
क्लबले हालै सम्पन्न विभिन्न परियोजनामा योगदान पु¥याएका कर्मचारी, भेन्डर, सहयोगी, शुभेच्छुक तथा सल्लाहकारलाई पनि प्रमाणपत्र र उपहार प्रदान गरेको थियो। संस्थासँग जोडिएर परियोजना कार्यान्वयनमा सहयोग गर्ने विभिन्न पक्षलाई सम्मान गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा क्लबका महासचिव बुधेश जयसवालले संस्थाको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरे। सचिव फिरदौस जहाँले स्वागत मन्तव्य राखिन् । कार्यक्रम क्लबका संस्थापक अध्यक्ष सिद्दिकीको सभापतित्वमा भएको थियो ।
उद्घाटन समारोहपछि संस्थाको बन्द सत्र सञ्चालन गरिएको थियो । बन्द सत्रले वार्षिक कार्यक्रम र आगामी योजनासहित विभिन्न निर्णय गरेको अध्यक्ष सिद्दिकीले बताए । उनका अनुसार, बन्द सत्रमा एन ४ लाइफ, जीएसएस, जीई र सुरक्षा परियोजनाले प्रस्तुत गरेको ग्यालेरी प्रस्तुतिलाई समेत मूल्यांकन गरिएको थियो । ती परियोजनालाई ग्यालेरी अवार्ड प्रदान गरिएको थियो ।
क्लबले स्थापनादेखि नै सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएको जनाइएको छ । पछिल्लो आर्थिक वर्षको विवरणले पनि संस्थाको गतिविधि रोजगारी सिर्जना र आर्थिक योगदानसँग जोडिएको देखाएको अध्यक्ष सिद्दिकीले बताए । उनका अनुसार सात वटा परियोजनामा ५१ जनाभन्दा बढी कर्मचारी कार्यरत छन् ।
३७ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा गेरुवा गाउँपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाका प्रतिनिधिसहित सामाजिक क्षेत्रका अगुवा, गैरसरकारी संस्थाका प्रतिनिधि, क्लबका पदाधिकारी तथा कर्मचारीको सहभागिता थियो ।





























