पुरुषोत्तम सापकोटा
बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको राप्ती सोनारी गाउँपालिका पूर्वाधार विकाससँगै सुगम बन्दै गएको छ । हुलाकी सडक, खहरे खोलाहरुमा पुल निर्माण र कचनापुर–कम्दी सडकअन्तर्गत भित्री सडक निर्माण भएपछि राप्ती सोनारीका गाउँबस्ती अहिले सुगममा परिणत हुन थालेका छन् । भौगोलिक विकटताका कारण विकासमा पछाडि परेको राप्ती सोनारीमा अहिले धमाधम कालोपत्र सडक निर्माण भइरहेका छन् । फत्तेपुरदेखि अगैयासम्म जोड्ने हुलाकी सडक निर्माणले राप्ती सोनारीको विकासको ढोका खुलेको राप्ती सोनारी–२ का अगुवा रामदास थारुले बताउनुभयो ।
“राप्ती सोनारीका दुर्गम गाउँबस्तीमा फराकिला सडक बनेर सवारीसाधन गुड्लान भनेर धेरैले सोचेकै थिएनन्, पछिल्लो पाँच वर्षमा धेरै विकास भएको छ”, थारुले भन्नुभयो, “अहिले कचनापुर–कम्दीअन्तर्गत भित्री सडकसमेत पक्की भएपछि हरिहरपुर, टिकुलीपुर, माथेवास लगायतका गाउँबस्ती पनि सुगम भएका छन् ।” नौ वडा रहेको राप्ती सोनारीका चार वडा राप्ती नदी वारी र पाँच वडा राप्ती नदी पारी पर्दछन् । यसमध्ये वडा नं १ साविकको खासकुस्मा गाविसका बस्ती राप्ती नदीको वारी पारी दुवैतर्फ रहेका छन् । अहिले हुलाकी सडकले राप्ती पारीका वडा नं ३ र ४ बैजापुर, ५ बिनौना तथा ६ र ७ फत्तेपुरका गाउँबस्ती सुगम भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष मिनराज खड्काले बताउनुभयो ।
वडा नं ५ विनौना र वडा नं २ को मदुवाघाटमा पक्की पुल निर्माण भएपछि गाउँपालिकाको वारी पारीका बस्तीको सिधा सम्पर्क हुन थालेको छ । बिनौना चोकदेखि मदुवाघाट पुलहुँदै वडा नं ८ शम्शेरगञ्ज जोड्ने सडकमा कालोपत्र भइरहेको छ । कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत वडा नं ५ को बिनौना र वडा नं ४ मोरङ्गा खोलामा पक्की पुल बनेपछि सदरमुकाम नेपालगञ्ज आवागमनमा धेरै सहज भएको प्रवक्ता खड्काको भनाइ छ । अहिले राप्ती सोनारीको केन्द्रसम्म पुग्न धेरै वैकल्पिक पक्की सडक निर्माण भइरहेका छन् । जिल्लाकै करिब ४५ प्रतिशत भूभाग ओगटेको राप्ती सोनारीमा पूर्वाधार विकासलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनुभयो ।
“पहिला जनतालाई आवागमनमा सहजताका लागि सडक तथा पुल निर्माणमा जोड दिएका छौँ, लगातारको प्रयासले अहिले गाउँपालिकामा पक्की सडक बनिरहेका छन्”, गाउँपालिका अध्यक्ष पौडेलले भन्नुभयो, “गाउँपालिकाको बजेटले मात्रै पूर्वाधार विकास सम्भव नभएकाले प्रदेश र सङ्घीय सरकार समक्ष योजना पेश गरेका छौँ ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बस्तीस्तरबाटै माग भएका पूर्वाधार विकासका योजनालाई प्राथमिकता दिँदै काम भइरहेको बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि निर्माणाधिन पक्की सडकका योजनालाई सम्पन्न गर्ने र केही नयाँ सडकसमेत कालोपत्र गर्ने गरी योजना निर्माण भइरहेको उहाँको भनाइ छ । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले राप्ती सोनारीवासीले मुलुक सङ्घीय संरचनामा गएपछि विकासको अनुभूति गर्न पाएको बताउनुभयो । जिल्लाकै दुर्गम क्षेत्रका रुपमा रहेको राप्ती सोनारीसहित नरैनापुरमा पूर्वाधार विकासलाई प्राथमिकताका साथ आगामी बजेटमा सडक र पुल तथा कल्भर्ट निर्माणका लागि योजना पेश गरेको उल्लेख गर्नुभयो ।






























