देशकै सबैभन्दा गर्मी सहरमध्येमा गनिने नेपालगन्जमा पछिल्लो समय चर्को गर्मीसँगै विद्युत अनियमितता थप समस्या बनिरहेको छ । अधिकतम तापक्रम ४१ डिग्री र न्यूनतम तापक्रम ३० डिग्री नाघिसकेको अवस्थामा बिना सूचना हुने अघोषित लोडसेडिङले सर्वसाधारणलाई दिनरात सास्ती दिइरहेको छ ।
शुक्रबार बासको आयोजनामा नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण कार्यालय अगाडि धर्ना दिंदै कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ ।
कार्यक्रममा सहभागी नागरिक सरोकार समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठले वर्षेनी गर्मीयाममा नेपाल विद्युत प्राधिकरणले रेडिमेट, गैरजिम्मेवार जवाफ दिने गरेको आरोप लगाए । ‘प्राधिकरणले न त नागरिकको गुनासो सुन्छ, न त समाधानमा अग्रसर देखिन्छ’, श्रेष्ठले बताए ।
बासका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले चर्को गर्मीमा पटक–पटक विद्युत सेवा अवरुद्ध हुनु अमानवीय भएको भन्दै कम्तिमा लोडसेडिङ गर्नैपर्ने भए पनि सार्वजनिक तालिका जारी गर्नुपर्ने माग गरे ।
गैसस महासंघ नेपालका सचिव नमस्कार शाहले विद्युत प्राधिकरणले समस्या के हो र समाधान के गर्दैछ भन्नेबारे स्पष्ट जानकारी नदिएको भन्दै गम्भीर आपत्ति जनाए । “विद्युत प्राधिकरण नागरिकप्रति जवाफदेही छैन,“ शाहको टिप्पणी थियो ।
यसै सन्दर्भमा बासले नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रलाई औपचारिक ज्ञापनपत्र बुझाउँदै नागरिकको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालगन्ज कानुनी रूपमा लोडसेडिङमुक्त सहर भए पनि प्राविधिक बहाना र मनपरी ढंगबाट अघोषित रूपमा लोडसेडिङ भइरहेको छ ।’
ज्ञापनपत्रमा भनिएको छ, ‘एकै दिनमा बत्ती कतिबेला जान्छ, कहाँ–कहाँ जान्छ भन्ने जानकारी नदिइकन झ्याप–झ्याप बत्ती जाने कार्यले नागरिकलाई मानसिक तथा शारीरिक रूपमा थकित बनाएको छ ।’ सेवा नियमित गर्न, सूचनाको हक सुनिश्चित गर्न तथा गुनासो व्यवस्थापन गर्न प्राधिकरणले कुनै गम्भीरता देखाएको छैन भन्ने आरोप पनि ज्ञापनपत्रमा लगाइएको छ ।
बासले नागरिक सरोकार सार्वजनिक रूपमा राखेको छ र समस्या तुरुन्त समाधान नभए चरणबद्ध दबाव कार्यक्रम ल्याइने चेतावनी दिएको छ ।
ज्ञापन पत्रमा गैसस महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट, युवा घरका सहसचिव जानकी बि.क., गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारी, भ्वाईस नेपालगञ्जका अध्यक्ष रमेश सिटौला लगायतले हस्ताक्षर गरेका थिए । ज्ञापन पत्र बुझ्दै नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका निमित्त प्रमुख बुद्धिसागर भुसालले समस्या समाधानका लागि पहल गर्ने बताए । यद्यपि, उनले वितरण केन्द्रबाट सबै समस्या समाधान नहुने स्पष्ट पारे ।