नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले शनिबार सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्षमा अब्दुल वाहिद अन्सारीलाई चयन गरेको छ भने अन्य पदाधिकारीहरू पनि सर्वसम्मतले चुनिएका छन्।
नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष विवेक थापा, सचिव शरद प्रसाद रिजाल, कोषाध्यक्ष गौरव डागा र सह-सचिव: छायाँचन्द्र वाग्ले छन् म
सदस्यहरूमा ॠदिकरण जैन, चम्पालाल बोथरा, होमनाथ ज्ञवाली, मिनेस मास्के, सुल्तान सलाहुदिन र शेखर सुमन सोनी रहेका छन्।
अध्यक्षमा चयन भएलगत्तै अब्दुल वाहिद अन्सारीले संघको आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्ने महत्त्वपूर्ण घोषणा गरे । उनले औद्योगिक क्षेत्रका आवश्यकताहरूप्रति पूर्ण रूपमा प्रतिबद्ध रहने र आगामी दिनहरूमा संघलाई थप सशक्त तथा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष अन्सारीले औद्योगिक क्षेत्रको विकास र यहाँका उद्योगी व्यवसायीका हकहितका लागि निरन्तर काम गर्ने वाचा पनि गरेका छन् ।
अधिवेशनमा नेपालगन्ज औद्योगिक क्षेत्रका विभिन्न उद्योगपति, संघका सदस्यहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै औद्योगिक क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्। नयाँ कार्यसमितिले औद्योगिक क्षेत्रको विकासका लागि नयाँ ऊर्जा र दिशा प्रदान गर्ने विश्वास लिइएको छ।