नियमनका लागि प्रशासनको ध्यानाकर्षण
बाँकेमा रहेका शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) हरूको मनपरी गतिविधि नियन्त्रण गरी विद्यार्थी र अभिभावकको हकहित सुरक्षित गर्नुपर्ने मागसहित अनेरास्ववियु (क्रान्तिकारी) ले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ ।
क्रान्तिकारीका बाँके संयोजक प्रकाश बि.क.को नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई बुझाएको ज्ञापनपत्रमार्फत शैक्षिक परामर्श केन्द्रहरूले विद्यार्थीलाई शोषण गर्ने, गलत मार्गनिर्देशन दिने र शिक्षा क्षेत्रमा नाफामुखी व्यापारिक प्रवृत्ति मौलाइरहेको भन्दै कडाइका साथ नियन्त्रणको माग गरिएको छ ।
ज्ञापनपत्रमा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ को उल्लङ्घन गर्ने संस्थामाथि कडा कारबाही गर्नुपर्ने, विद्यार्थीबाट असुलिने शुल्क पारदर्शी रूपमा सार्वजनिक गरिनुपर्ने, विदेश पठाइएका विद्यार्थीहरूको विवरण शिक्षा मन्त्रालयमा नियमित अद्यावधिक गर्नुपर्ने र अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने माग राखिएको छ ।
त्यसैगरी, परामर्श केन्द्रले स्थायी लेखा प्रमाणपत्र, दर्ता प्रमाणपत्र, सेवा प्रक्रिया र लागत विवरण कार्यालयमा राख्नुपर्ने, वैदेशिक शिक्षाका लागि पठाइने विद्यार्थीका विषय, शुल्क र खर्चबारे अभिभावकसँग स्पष्ट सम्झौता गर्नुपर्ने, विज्ञापन गर्दा दर्ता तथा अनुमति नम्बर प्रष्ट राख्नुपर्ने र स्वीकृत स्थान बाहिर शाखा सञ्चालन गर्ने संस्थाको दर्ता र अनुमति तत्काल रद्द गर्नुपर्ने माग समेत समावेश छन् ।
अखिल (क्रान्तिकारी) ले मागहरू अविलम्ब कार्यान्वयन नभए कानूनी र संवैधानिक माध्यममार्फत सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ । ‘यी मागको सुनुवाईमा प्रशासन गम्भीर नभए हाम्रा राजनीतिक कारबाही अघि बढ्छन्,’ विद्यार्थी आन्दोलनका कार्यक्रमबारे क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता दिपक शाहीले दैनिक नेपालगन्जसँग भने, ‘सकेसम्म राज्यनै अबेध क्रियाकलाप रोक्न अघि सरोस् भन्ने मान्यता हो ।’
क्रान्तिकारीले ज्ञापनपत्रको प्रतिलिपि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल शैक्षिक परामर्श संघसहित सरोकारवाला निकायहरूलाई बोधार्थ पठाइएको जनाएको छ ।






























