‘अग्निस्पन्दन’ !
शीर्षक नै ज्वाला बनेर आएको छ । यो कविको हृदयभित्र बलिरहेको आगो मात्र नभई चेतना र प्रतिरोधको कम्पन पनि हो । यस सङ्ग्रहका कविताहरूमा कवि नारी अनुभूति, सामाजिक न्याय, प्रकृतिप्रेम, राजनीतिक चेतना र मानवीय करुणा एकसाथ प्रवाहित भएका छन् । यहाँ कवि कल्पना पौडेल जिज्ञासुले आफ्नो अनुभूति मात्र व्यक्त गरेकी छैनन्, अपितु समयका विविध प्रश्नसँग संवाद पनि गरेकी छन् ।
कवित्व र नारी आवाजको सम्बन्ध अत्यन्तै गहिरो विषय हो । एउटा पुरुषले लेख्ने नारी सरोकारको कविताले वाह्य नजरिया मात्र व्यक्त गरेको हुन्छ । अनुभूति, मनस्थिति र अभिव्यक्तिको स्तरमा नारी स्वयंबाट निस्केको आवाजको छुट्टै महत्व र गाम्भीर्य हुन्छ ।
काव्य परम्परामा “नारी स्वर“को तात्पर्य केवल नारीद्वारा लेखिएको साहित्य मात्र होइन । त्यहाँ करुणाको गहन उपस्थिति हुन्छ । प्रेम अत्यधिक सूक्ष्म र स्पर्शी हुन्छ । पीडाको स्फुटन भित्र गहिराइबाट भएको हुन्छ । नारीस्वरमा व्यक्त विरह, प्रतीक्षा, आह्वान, मौन र वेदनाको आवाजले पाठकलाई बढी द्रवित र उद्वेलित पार्छ ।
यस सङ्ग्रहमा कविले बडो सशक्तरूपमा आफ्नो समयको धड्कनलाई शब्दमा अनुवाद गरेकी छन् । उनका कविताहरूमा विद्रोह छ, तर विनाशको नभई परिवर्तनको । यहाँ करुणा पनि छ, किन्तु निरीहताको नभई मानवीय सहवेदनाको ।
सङ्ग्रहको आरम्भिक कविता ‘अग्निस्पन्दन’ नारी–अस्तित्वको शक्तिशाली उद्घोष हो । “म स्त्री हुँ, कमजोरीको द्योतक होइन” भन्ने भावले स्त्रीलाई दया वा निर्बलताको प्रतीक नभई परिवर्तनकारी शक्तिका रूपमा प्रस्तुत गर्दछ । यहाँ कवि सबल आवाजमा बोल्छिन्, “म अदृश्य ज्वाला हुँ“ । यो एक प्रकारले भयदायक नारी स्वर हो । यही विद्रोही स्वर ‘रक्तिम बिउ’, ‘देखिँदैनन् यी घाउहरू’ र ‘सीताको अग्निपरीक्षा’ जस्ता कविताहरूमा पनि विभिन्न रूपले अभिव्यक्त भएको छ ।
सामान्य व्यक्ति एउटा फूलबारीमा फूल मात्र देख्छ । परन्तु कविले त्यसमा सौन्दर्य, क्षणभङ्गुरता र प्रकृतिको रहस्य समेत देखिरहेको हुन्छ । एउटा साधारण मानिसले नीलो गनलाई आच्छादन गरेको सेतो या कालो बादल मात्र देख्छ । कवि त्यही बादलमा विरह, आशा या व्याकुलतालाई महसुस गरिरहेको हुन्छ ।
कल्पनाशील कवि कल्पनाले ‘मानिस र प्रकृति’, ‘नदीको डायरी’ र ‘माटोको सुवास’ जस्ता कविताहरूमा प्रकृतिसँगको आत्मीय सम्बन्ध कायम गरेकी छन् । उनमा पर्यावरणीय संवेदना छ । शब्द – शब्दमा भावनात्मक आकर्षणको अभिव्यक्त भएको छ । प्रकृतिलाई यहाँ केवल सौन्दर्यको विषय बनाइएको छैन, अपितु यसलाई मानवीय जीवन र सभ्यतासँग जोडेर हेर्ने प्रयास गरिएको छ ।
लेख्छिन्,
आऊ !
पहाडको फेदीमा हामी
झरनाको गीत गाऔं
पुतलीसँगै नाचेर
फूलका गीत र हिउँका कथा सुनौं
र बनाऔं अर्को नयाँ युग
यति सुन्दर भावको कविता विरलै पढ्न पाइन्छ ।
विद्रोह कविताको गहना हो । कवि केवल सुन्दरता, प्रेम या प्रकृतिको गायक मात्र होइन । यस सङ्ग्रहमा विद्रोहको नारीचेतना बहुतै प्रखर स्वरमा आएको छ ।
सामाजिक तथा राजनीतिक चेतनाका दृष्टिले ‘रगतको रेखा’, ‘कुर्सीको परीक्षा’, ‘को अपवित्र ?’ र ‘जातकी श्रीमती’ कविताहरू उल्लेखनीय छन् । यी कविताहरूले सत्ता, वर्ग, जात र सामाजिक विभेदमाथि ज्वलन्त प्रश्न उठाएका छन् । कवि कल्पनाको दृष्टि अन्यायप्रति आलोचनात्मक छ । तर त्यो नारा वा घोषणामा सीमित नभई काव्यात्मक संवेदनामार्फत व्यक्त भएको देखिन्छ ।
सुन !
मेरो गर्जन गोलाबारुदको हुँदैन
किनकि म रक्तिम चेतनाको रक्तिम बिउ हुँ …..( रक्तिम बिउ )
श्रम, सीप, जवानी चल्यो
पानी चलेन
आधुनिक युगले कुरीकुरी गर्दैछ
अति भयो
भो पुग्यो श्रीमान् ! ( जातकी श्रीमती )
कविको शक्ति नै अरूको दुःख र आँसुलाई आफ्नो बनाउनुमा हुन्छ । आँसुले केवल दुःखको सङ्केत गर्दैन । आँसु त कवि बोल्ने भाषा हो । जहाँ शब्दहरू समाप्त हुन्छन्, त्यहाँ कवित्वको भाव अक्सर आँसु या करुणा बनेर बगिदिन्छ ।
‘आमा ती हुन्’ कविता करुणामय पक्षको सुन्दर उदाहरण हो । यहाँ कल्पनाले आमाको मौनता र भित्री पीडालाई शिलाखण्ड र अदृश्य सरिताको विम्बमार्फत प्रस्तुत गरेकी छन् । त्यसै गरी ‘पवित्र साथ’ र ‘गुँड छाडेकी चरी’ जस्ता कविताहरूले समाजका पूर्वाग्रह र सम्बन्धमाथि लगाइने अनर्गल आरोपहरूको आलोचना गर्छन् ।
आक्षेप लागे
लोग्ने नामबाट आक्षेप
परिवार नामबाट आक्षेप
छोराछोरी नामबाट आक्षेप
इष्टमित्र नामबाट आक्षेप ( गुँड छाडेकी चरी )
हामीबीचको हाँगो
समाजले हेर्छ
आफ्नै शंकाको ऐनामा ( पवित्र साथ )
कल्पनाका कवितामा एक प्रकारको सामाजिक दायित्वबोध देखिन्छ । उनी केवल आफ्ना व्यक्तिगत अनुभूति मात्र लेख्दिनन्, अपितु उनी त समाजका सीमान्त आवाज, मौन पीडा र दबिएका प्रश्नहरूलाई पनि काव्यको केन्द्रमा ल्याउने प्रयास गर्छिन् । यी कविताहरू पढ्दा लाग्छ, कविको कलम केवल भावनाको माध्यम होइन, चेतनाको दीपक पनि हो ।
सङ्ग्रहका सबै कविता पठनीय छन् । पढ्दै जाँदा कहिँ पनि झर्को लाग्दैन । शैलीगतरूपमा कविताहरू मुक्त छन्दमा लेखिएका छन् । विम्ब र प्रतीकको प्रभावकारी प्रयोग भएको छ । कतै कतै केही भावहरू प्रत्यक्षरूपमा अभिव्यक्त भएको हुँदा काव्यात्मक सूक्ष्मतामा थोरै कमजोरी देखिन्छ । तर त्यो केवल शुद्ध सुनमा सुगन्ध नआए जस्तो मात्र हो ।
कविताको प्रमुख शक्ति नै स्पष्ट वैचारिक प्रतिबद्धता हो । संवेदनशीलता र पाठकसँग सीधा संवाद गर्ने क्षमता हो । समग्रमा ‘अग्निस्पन्दन’ समकालीन नेपाली समाजका विविध पक्षहरूलाई नारी चेतनाको दृष्टिबाट हेरिएको काव्यसङ्ग्रह हो ।
यसले प्रतिरोधको ज्वाला, प्रकृतिको सौन्दर्य, मातृत्वको करुणा र सामाजिक न्यायको आकांक्षालाई एउटै सूत्रमा गाँसेको छ । यसमा समाहित कविताहरूले पाठकलाई केवल भावुक मात्र बनाउँदैनन्, सोच्न र प्रश्न गर्न पनि बाध्य पार्छन् । यही विशेषताले नै कवि कल्पनालाई समकालीन नेपाली कविताको क्षेत्रमा अर्थपूर्ण स्थान प्रदान गरेको छ ।




























