बाँकेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सन्तनेश्वर बाबाधामलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले नरैनापुरमा आज शनिवार ‘सन्तानेश्वर महादेव शान्ति, सद्भाव तथा धार्मिक पदयात्रा’ आयोजना हुने भएको छ । धार्मिक पर्यटनको विकाससँगै सामाजिक सद्भाव, शान्ति र आपसी एकताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित आज पदयात्रा सञ्चालन गर्न लागिएको हो ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा नरैनापुर गाउँपालिकाको आयोजनामा बाँकेको नरैनापुर गाउँपालिकास्थित चुरे पहाडको टाकुरामा रहेको सन्तनेश्वर बाबाधाम क्षेत्रमा धार्मिक पदयात्रा आयोजना गरिनेछ ।
नाट्टा बाँके च्याप्टरका अनुसार पदयात्राको प्रमुख उद्देश्य सन्तनेश्वर बाबाधामको धार्मिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नुका साथै समाजमा शान्ति, सद्भाव र धार्मिक सहिष्णुताको सन्देश फैलाउनु हो ।
कार्यक्रमको संयोजन नाट्टा बाँकेका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले गरेका हुन् । उनका अनुसार, पदयात्रालाई भव्य बनाउन भजन–कीर्तनसहित धार्मिक वातावरणमा यात्रा सञ्चालन गरिनेछ । उनले भने, ‘भव्य भजन–कीर्तनसहित पदयात्रा सञ्चालन गर्ने तयारी गरिएको छ ।’
बाँकेको हुलाकी सडक खण्ड हुँदै सहज रूपमा पुग्न सकिने नरैनापुरस्थित सन्तनेश्वर महादेव मन्दिर प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाका दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ । पछिल्ला वर्षहरूमा यहाँ आन्तरिक पर्यटकसँगै विशेषगरी भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । पदयात्राले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने आयोजकको विश्वास छ ।
कार्यक्रममा पर्यटन व्यवसायी, विभिन्न क्षेत्रका प्रतिनिधि, धार्मिक श्रद्धालु तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने जनाइएको छ ।






























