धार्मिक पर्यटनको गन्तव्य बनाउने अभियान
सन्ध्या गैरे
बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा शनिबार एक हजारभन्दा बढी भक्तजन पुगेका छन् ।
धार्मिक आस्था, सामाजिक सद्भाव र पर्यटन प्रवद्र्धनको सन्देशसहित आयोजना गरिएको ‘सन्तानेश्वर महादेव शान्ति, सद्भाव तथा धार्मिक पदयात्रा’मा बाँकेसहित विभिन्न जिल्लाका श्रद्धालु, साहित्यकार, पत्रकार, पर्यटन व्यवसायी, योग समिति, भजन मण्डली र सर्वसाधारण सहभागी भएका हुन् ।
नरैनापुर गाउँपालिकाको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटा बाँके च्याप्टरको संयोजनमा भएको पदयात्रामा नेपालका विभिन्न स्थानसँगै भारतबाट समेत भक्तजन आउने सन्तानेश्वर महादेव क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिइयो । मन्दिरको धार्मिक महत्वसँगै यहाँको प्राकृतिक तथा वातावरणीय सम्भावनालाई उजागर गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको हो ।
बिहानैदेखि सुरु भएको पदयात्रामा सहभागीले सन्तानेश्वर महादेवको दर्शन, पूजा–आराधना र सामूहिक प्रार्थना गरेका थिए । गुल्मेली भजन टोलीसहितको सहभागिताले पदयात्रामा धार्मिक वातावरण थपिएको थियो । सहभागीहरूले भजनको आनन्द लिँदै शान्ति, सद्भाव, धार्मिक सहिष्णुता र पर्यटन प्रवद्र्धनको सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमका अध्यक्ष नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले धार्मिक आस्थाका केन्द्रलाई राजनीतिक विवाद र द्वेषबाट अलग राखेर विकास गर्नुपर्ने बताए । धर्मका नाममा हुने विवादले समाजमा नकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।
‘धर्मका नाममा बाँकेमा जे–जति लडाइँ भयो, त्यसले सबैको मन पोल्छ। तर यी सबै अवस्थाका बीच पनि हामी सन्तनेश्वर महादेव मन्दिरको स्तरोन्नति र सडक विस्तारको कामलाई निरन्तरता दिइरहेका छौँ,’ शाहले भने । उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष शाहले पदयात्रामा सहभागी श्रद्धालुलाई रुद्राक्षको माला तथा खादा ओढाएर सम्मानसमेत गरेका थिए । उनले धार्मिक पर्यटनको विकाससँगै सबै समुदायबीचको भाइचारा र आपसी सम्मान बलियो बनाउनुपर्ने बताए । राजनीतिक स्वार्थका कारण समाजमा विभाजन र द्वन्द्व निम्त्याउने गतिविधिबाट टाढा रहन आग्रह गर्दै उनले राष्ट्रिय एकता सबैभन्दा ठूलो शक्ति भएको धारणा राखे ।
कार्यक्रमका प्रमुख अतिथि तथा सन्तानेश्वर महादेव मन्दिरका पुजारी योगानन्द गिरीले मन्दिरमा आउने भक्तजनको संख्या पछिल्लो समय निरन्तर बढिरहेको बताए । आफू विगत पाँच वर्षदेखि आश्रममा बसेर भक्तजनको सेवा गर्दै आएको उल्लेख गर्दै उनले यहाँ आउने भक्तजन धार्मिक विश्वास र आस्थाका साथ आउने गरेको अनुभव सुनाए ।
‘म यहाँ आएको पाँच वर्ष भयो । यहाँ आउने जति पनि भक्तजन हुनुहुन्छ, उहाँहरू सबै विश्वास र आस्थाका साथ आउने गर्नुहुन्छ,’ गिरीले भने । उनले शनिबारको पदयात्रा अहिलेसम्मकै ठूलो धार्मिक पदयात्रा भएको बताए । एकैपटक हजारौँ भक्तजनलाई भण्डारा सेवा प्रदान गर्न पाउँदा आफू खुसी भएको उनले बताए ।
समग्र कार्यक्रमको संयोजन गरेका नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले सन्तानेश्वरसम्मको यातायात तथा आवागमनमा विगतको तुलनामा सुधार हुँदै गएकाले भक्तजनको संख्या बढेको बताए । सडक तथा अन्य पूर्वाधारमा क्रमिक सुधार भइरहेकाले सन्तानेश्वर धार्मिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्य बन्ने सम्भावना बढेको उनको भनाइ थियो ।
सिग्देलले धार्मिक पदयात्राले मानिसमा शान्ति, सकारात्मक सोच र आध्यात्मिक ऊर्जा विकास गर्ने बताए । यस्ता कार्यक्रमले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने उनले उल्लेख गरे ।
उनका अनुसार सन्तानेश्वर महादेव मन्दिरलाई राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सरकार, स्थानीय तह, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक छ । धार्मिक आस्थासँगै प्राकृतिक तथा वातावरणीय महत्व बोकेको क्षेत्र भएकाले यसको प्रचार–प्रसारलाई व्यापक बनाउनुपर्ने उनले बताए ।
पदयात्राका क्रममा सन्तानेश्वर क्षेत्रको धार्मिक महत्वसँगै पर्यटन सम्भावना र पूर्वाधार विकासबारे समेत छलफल गरिएको थियो । गन्तव्यका कमजोरीभन्दा त्यहाँ रहेका धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय विशेषतालाई पहिचान गरी प्रचार गर्न सके बाँकेलाई पर्यटनको महत्वपूर्ण हबका रूपमा विकास गर्न सकिने सहभागीहरूको भनाइ थियो ।
सन्तानेश्वरलाई धार्मिक पर्यटनसँगै वातावरणीय तथा प्राकृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सके नेपालका विभिन्न जिल्लासँगै सीमावर्ती भारतीय क्षेत्रबाट समेत पर्यटक र भक्तजन आकर्षित गर्न सकिने सम्भावना रहेको कार्यक्रममा चर्चा भयो । सन्तानेश्वरजस्ता सम्भावनायुक्त गन्तव्यमा बढीभन्दा बढी मानिस पु¥याएर त्यसका विशेषता बाहिर ल्याउनुपर्नेमा सहभागीहरूले जोड दिए ।
पदयात्रापछि आयोजित समापन कार्यक्रममा भजन समूहका पिताम्बर मरासैनी, योग समितिकी नीलम शर्मा, मिथिला समाजका डा राम रोजन यादव लगायतले धार्मिक तथा सामाजिक सद्भावका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन नरैनापुर गाउँपालिकाका सहायक अधिकृत भरत महतोले गरेका थिए ।
पदयात्रामा सञ्चारकर्मी, पत्रकार, अभियन्ता, योग समितिका पदाधिकारी तथा सदस्य, पर्यटन व्यवसायी, भजन मण्डली र सर्वसाधारणको सहभागिता थियो । विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिताले सन्तानेश्वर महादेवलाई धार्मिक आस्थासँगै बाँकेको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अभियानलाई बल पुगेको सहभागीहरूले बताएका छन् ।






























