भेरी अस्पताल नेपालगन्जले आर्थिक वर्ष २०८२÷०८३ मा प्रसूति सेवामा उल्लेखनीय वृद्धि गरेको छ । अस्पतालको वार्षिक स्वास्थ्य कार्यक्रमको तथ्यांक अनुसार गत आर्थिक बर्षमा ६ हजार ५ सय ९७ वटा सुत्केरी सेवा प्रदान गरिएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ को ५ हजार ६ सय ८ को तुलनामा ९ सय ८९ ले बढी हो ।
तथ्यांक अनुसार सामान्य प्रसूति ४ हजार १ सय ४५, भ्याकुम÷फोर्सेपमार्फत २ सय ५ तथा शल्यक्रिया मार्फत २ हजार २ सय ४७ प्रसूति सम्पन्न भएका छन् । अघिल्लो वर्षको तुलनामा शल्यक्रियाबाट हुने प्रसूति पनि उल्लेख्य रूपमा बढेको देखिएको छ ।
यता नवजात शिशुको मृत्यु भने आर्थिक वर्ष २०८१÷०८२ मा २९ रहेकोमा २०८२÷०८३ मा ३४ पुगेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा यो संख्या ४१ थियो ।
त्यस्तै मृतजन्मको संख्या पनि बढेको देखिएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा १ सय ८१ वटा मृतजन्म भएको छ भने २०८१÷०८२ मा १ सय ७७ र २०८०÷०८१ मा १ सय ६१ रहेको थियो ।
मृतजन्ममध्ये फ्रेस स्टिलवर्थ आर्थिक वर्ष २०८२÷०८३ मा ३१ रहेको छ, जुन अघिल्लो वर्ष २० थियो । म्यासरेटेड स्टिलवर्थ भने २०८१÷०८२ को १ सय ५७ बाट घटेर १ सय ५० मा झरेको छ ।
अस्पतालमा प्रसूति सेवा लिने सेवाग्राहीको संख्या निरन्तर बढ्दै गए पनि नवजात मृत्यु र मृतजन्मका घटनाले मातृ तथा शिशु स्वास्थ्य सेवाको गुणस्तर अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउने गरेका छन् । नेपालमा सुरक्षित मातृत्व, गुणस्तरीय प्रसूति सेवा र नवजात शिशु हेरचाहलाई प्राथमिकता दिइँदै आएको छ ।






























