नेपालगन्जमा पेशाकर्मीहरूविच मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिता आयोजना गरिने भएको छ । नेपालगन्ज ग्यालरीको आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना हुन लागेको कार्यक्रम संयोजक प्रकाश अधिकारीले सोमबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
आयोजक फेसबुक ग्रुप नेपालगन्ज ग्यालरी सञ्चालक समिरमान श्रेष्ठले बेथिति विसंगती विरुद्ध सधै दृढताका साथ आफ्नो विचार राख्ने र सोहि अनुरूप आफ्नो सक्रियतालाई अघि बढाउने प्रयास अन्तर्गत भ्रष्टचार विरुद्ध सबै पेशाकर्मीहरूको एक्यबद्धताका लागि मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागेको जानकारी दिए । उनले खेलकुदको विकास र भ्रष्टचार विरुद्धको अभियानलाई टेवा पुर्याउने उद्देश्यका साथ ‘भ्रष्टचार विरुद्ध मेरो एक गोल’ भन्ने नारा सहित आगामी चैत्र ७ देखि ११ गतेसम्म मैत्रीपूर्ण फुटबल हुने बताए ।
सहआयोजक खबरगन्जका सञ्चालक खगेन्द्र दाहालले सञ्चालन गरेको कार्यक्रममा संयोजक अधिकारीले प्रतियोगितामा १४ वट टिम बीच फुटबल खेल हुने जानकारी दिए । प्रतियोगितामा कर्मचारी मिलन केन्द्र, नेपालगन्ज उपमहानगरपालीका, नेपाल बार एसोसियसन, पत्रकार महासंघ, उद्योग बाणिज्य सँघ, अटो मोवाईल्स ब्यवसायी सँघ, सरकारी शिक्षक, किराना तथा खाद्य ब्यवसायी सँघ, बास नेपाल, ईन्सुरेन्सकर्मी, नेपाल टेलिकम, भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, प्याब्सन लगायतको टिम खेल्ने छ ।
प्रतियोगितामा बिजेता र उपबिजेता टिमलाई ट्रफि, मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रममा भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्था, बासका कार्यकारी निर्देशक नमस्कार शाहले नेपालगन्जको पहिचान बनाउनका लागि इभेन्टको निकै महत्व रहेको बताएका थिए ।































