नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघले आफ्नो कार्यालय भवन निर्माण कार्य शुभारम्भ गरेको छ । शनिबार यहाँका उद्योगी, व्यवसायी सदस्यहरु बीच वरिष्ठ उद्योगपति कन्हैयालाल वैद्यले भवन निर्माणको कार्यको शिलान्यास गरे ।
वैदिक परम्परा अनुसार उद्योगी, व्यवसायीहरु बीच नेपालगन्ज औद्योगिक क्षेत्र भित्र रहेको भवन निर्माण स्थलमा वरिष्ठ उद्योगपति वैद्यले भवन शिलान्यास गर्दै समयमै सुविधा सम्पन्न उद्योगी भवन बन्ने विश्वास व्यक्त गरे ।
संघका अध्यक्ष अब्दुल वाहिद अन्सारीका अनुसार, एक बर्ष भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य अनुसार शिलान्यास गरिएको भवनमा ५० लाख बढीको लगानीमा उद्योगी, व्यवसायीका लागि औपचारिक सभा हलदेखि कार्यालय कक्षहरुको निर्माण हुनेछ ।

संघका पूर्व अध्यक्ष राजेश मास्के, वरिष्ठ उद्योगपति चम्पालाल बोथरा, प्रदिप दुगड, औद्योगिक क्षेत्र विकास कार्यालय नेपालगन्जका प्रमुख प्रदिप पराजुली लगायतका उद्योगी, व्यवसायीहरुको सहभागितामा शिलान्यास कार्यक्रम गरिएको संघका सचिव शरद रिजालले जानकारी दिए ।






























