बाँकेको कोहलपुरमा सेफ्टी टयाङ्की सफा गर्ने क्रममा फसेर आज तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले टयाङ्की सफा गर्ने क्रममा निस्सासिएर उहाँहरुको मृत्यु भएको हुन सक्ने आशङ्का गर्नुभयो ।
उहाँका अनुसार कोहलपुर नगरपालिका वडा नं ३ निवासी ४१ बर्षका कालु थारु, सोही ठेगानाका २६ बर्षका प्रकाश थारु र बर्ष ३४ का बिर्जा थारुको मृत्यु भएको हो ।
कोहलपुर नगरपालिका–३ शान्तिटोलस्थित दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी टयाङ्कीमा उहाँहरु फसेको अवस्थामा सोही वडाका तीन जनालाई मृत अवस्थामा फेला पारिएको थियो । मिस्त्री तथा मजदुरीको काम गरिरहेका बेला उहाँहरु सेफ्टी टयाङ्कीभित्र फसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
प्रहरी नायब उपरीक्षक राठौरका अनुसार सेफ्टी टयाङ्कीमा मानिस फसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक चक्र डम्मर पालको नेतृत्वमा १५ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले जेसीबीको सहायताले सेफ्टी टयाङ्की फुटाएर बिहान करिब १० बजे तीनै जनाको शव बाहिर निकालेको थियो । मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगन्ज पठाइएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























