गुरु–शिष्य सम्बन्धलाई आत्मीय बनाउने सन्देशसँगै सम्मान
गुरुपूर्णिमाको अवसरमा बुधवार लुम्बिनी प्राविधिक विश्वविद्यालयका विद्यार्थीहरूले विश्वविद्यालयका सम्पूर्ण प्राध्यापक तथा प्रशासनिक पदाधिकारीलाई सम्मान गर्दै विशेष कार्यक्रम आयोजना गरेका छन् । विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले गुरु–शिष्य सम्बन्धलाई सम्मान, विश्वास र आत्मीयताका आधारमा अझ सुदृढ बनाउने सन्देश दिएको हो ।
विद्यार्थीहरूले कार्यक्रमका क्रममा प्राध्यापक तथा प्रशासनिक पदाधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यसपछि केक काट्ने, ‘गेस द फोटो’ चुनौती, मट्का फोड तथा विभिन्न मनोरञ्जनात्मक खेल सञ्चालन गरिएको थियो । ती गतिविधिमा शिक्षक र विद्यार्थीले एकसाथ सहभागिता जनाएका थिए । औपचारिक कक्षाकोठाभन्दा फरक वातावरणमा भएको कार्यक्रमले गुरु–शिष्यबीचको दूरी घटाएर सम्बन्धलाई थप आत्मीय बनाएको सहभागीहरूले बताएका छन् ।
कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य डा. कृष्णप्रसाद घिमिरेले गुरुपूर्णिमाको महत्व र गुरु–शिष्य सम्बन्धको गरिमालाई समेटेर कविता वाचन गरेका थिए । उनले प्रस्तुत गरेको कविताले ज्ञान, संस्कार, सम्मान र गुरुको मार्गदर्शनको महत्वलाई भावपूर्ण ढंगले प्रस्तुत गर्दै कार्यक्रमलाई थप गरिमामय र भावुक बनाएको थियो ।
कार्यक्रमको उद्देश्यबारे बि.टेक इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स चौथो सेमेस्टरका विद्यार्थी अर्जुन धितालले शिक्षकप्रतिको सम्मानलाई औपचारिकतामा सीमित नराखी आत्मीय रूपमा व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
उनले कार्यक्रममा भने, ‘सधैं हामीलाई समय दिने गुरुहरूका लागि केही फरक र रमाइलो तरिकाले सम्मान व्यक्त गर्ने सोचका साथ यो कार्यक्रम गरेका हौं । यस्ता गतिविधिले विद्यार्थी र शिक्षकबीचको सम्बन्ध अझ घनिष्ठ, सहज र विश्वासिलो बन्छ भन्ने हाम्रो विश्वास छ ।’
विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. बिनोदप्रसाद ढकालले गुरुपूर्णिमाको वास्तविक अर्थ वर्षमा एक दिन कार्यक्रम गर्नु मात्र नभई दैनिक जीवनमा गुरुजनप्रति सम्मान, अनुशासन र कृतज्ञताको भावना कायम राख्नु रहेको बताए ।
सम्मान ग्रहण गर्दै उनले भने, ‘गुरुपूर्णिमा वर्षमा एक दिन मनाइने पर्व मात्र होइन । विद्यार्थीले ज्ञान दिने गुरुहरूप्रति सधैं सम्मान, अनुशासन र कृतज्ञताको भावना राख्न सके प्रत्येक दिन नै गुरुपूर्णिमा बन्न सक्छ । हामी शिक्षकका लागि विद्यार्थीको भविष्य नै सबैभन्दा ठूलो प्राथमिकता हो र हामी सधैं उनीहरूको उज्ज्वल भविष्य निर्माणमा समर्पित रहनेछौं ।’
रजिस्ट्रार रेगबहादुर भण्डारीले विद्यार्थीले व्यक्त गरेको सम्मानप्रति खुसी व्यक्त गर्दै त्यसलाई व्यवहारमा समेत निरन्तरता दिनुपर्ने धारणा राखे । उनले भने, ‘शिक्षा भनेको केवल पाठ्यपुस्तकको ज्ञान मात्र होइन, संस्कार, सम्मान र मानवीय मूल्यको पनि सिकाइ हो । शिक्षक र विद्यार्थीबीचको सम्बन्ध विश्वास, पारस्परिक सम्मान, संवाद र प्रेरणामा आधारित हुनुपर्छ । यस्तो सम्बन्ध जति मजबुत हुन्छ, सिकाइको वातावरण त्यति नै प्रभावकारी र जीवनोपयोगी बन्छ ।’
समग्र कार्यक्रमको सहजीकरण गर्दै विश्वविद्यालयकी विद्यार्थी सन्ध्या गैरेले गुरुपूर्णिमाको अवसरसँगै उपकुलपति र रजिस्ट्रारप्रति विशेष सम्मान व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । उनले उपकुलपति र रजिस्ट्रारको कार्यकाल समापनतर्फ उन्मुख रहेकाले विश्वविद्यालय परिवारका सम्पूर्ण विद्यार्थीको तर्फबाट कृतज्ञता, सम्मान र आत्मीयता व्यक्त गर्ने अवसरका रूपमा कार्यक्रम आयोजना गरिएको बताइन् ।
विद्यार्थी र शिक्षकबीच सम्मान, सहकार्य र विश्वासको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले औपचारिक शिक्षाभन्दा बाहिर पनि गुरु–शिष्य सम्बन्ध संस्कार, आत्मीयता र पारस्परिक सम्मानमा आधारित हुनुपर्नेमा जोड दिएका थिए । गुरुपूर्णिमाको सन्देशलाई व्यवहारमा उतार्दै यस्ता कार्यक्रमले विश्वविद्यालयको सिकाइ संस्कृतिलाई थप समृद्ध बनाउने विश्वास पनि सहभागीहरूले व्यक्त गरेका थिए ।






























